उमेशको संघर्ष र सफलताको कथामा ‘बोबी २’ बन्ने



यस वर्ष प्रदर्शनमा आएको मिलन चाम्स निर्मित तथा निर्देशित उमेश थापा र कविता गुरुङको रियल कथा र अभिनय रहेको चलचित्र ‘बोबी’ को सिक्वेल निर्माण हुने भएको छ । शनिबार राजधानीमा फिल्म ‘बोबी २’ घोषणा गरिएको छ ।

चलचित्रको नाम ‘बोबी २ : बाँकी कथा’ राखिएको छ । यसमा पनि रियल जोडीकै अभिनय रहने छ । चलचित्रलाई मिलन चाम्सले नै निर्माण र निर्देशन गर्नेछन् । चैत दोस्रो साताबाट छायांकन सुरु हुने चलचित्र उमेशको संघर्ष र सफलताको कथामा केन्द्रित हुनेछ ।


पहिलो भागमा अटाउन नसकिएको उमेश र कविताको कथा पनि देखाइने निर्देशक चाम्सले बताए । उनी भन्छन्, ‘परिवारको आर्थिक अवस्था कमजोर हुँदा उमेशले बाल्यकालमा गरेको संघर्ष र नर्वे पुगेपछि गरेको संघर्ष र सफलताको कथामा चलचित्र केन्द्रित हुनेछ ।’ उनी थप्छन्, ‘पहिलो पार्टले इमोसनल गरेको थियो । ‘बोबी २’ ले प्रेरणा दिनेछ ।’

चलचित्रमा उमेश र कवितासँगै विजय लामाको अभिनय रहनेछ । ‘बोबी’ मा अभिनेता लामाले कविताको अंकलको भूमिका निभाएका थिए । ५० प्रतिशत नर्वेमा छायांकन हुने चलचित्रको नेपालमा भने पोखरा र काठमाडौंमा हुनेछ ।

नरेश भट्टराई र गिरिराज घिमिरेले संयूक्त रुपमा उमेशको संघर्ष र सफलताको कथालाई पटकथामा ढालेका छन् । ‘बोबी’ मा पनि दुवैको पटकथा लेखन थियो । ‘बोबी २’ को डिओपीमा सुदीप बराल फाइनल भएका छन् ।

चाम्स इन्टरटेन्मेन्ट र लण्डन सिने आईको ब्यानरमा निर्माण हुने चलचित्रको सिनेमेट्रोग्राफरमा नवराज उप्रेती रहने छन् । बनिश शाहले सम्पादन गर्ने चलचित्र अर्को वर्षको मध्यान्तरमा प्रदर्शन गर्ने निर्माण टिमको तयारी छ ।


चलचित्रको घोषणा सभामा उमेशले आफ्नो कथाले गरिब परिवारमा हुर्किएर संघर्ष गरिरहेका मानिसहरु ‘इन्स्पायर्ड’ भए आफूहरुको मेहनत सफल भएको मान्ने बताए । कार्यक्रममा छोरासहित उपस्थित कविताले भने उमेशको कथा पर्दामा हेर्न आफू पनि आतुर रहेको बताइन् ।

उनले भनिन्, ‘उमेशले बाल्यकालमा आर्थिक अवस्था कमजोर भएका कारण विद्यालयको शुल्क बुझाउन नसकेर शिक्षकले बेन्चमाथि उभ्याएको कुरा सुनाउदा म निकै भावुक हुन्छु । अब त्यो सबै कुरा पर्दामा आउँदैछ, म निकै उत्साहित छु ।’

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu