‘बुलबुल’ प्रचारः स्वस्तिमाले लिइन् रनकला बनेकी स्वस्तिमासँग अन्तर्वार्ता (भिडियो)



फ्ल्यास मोब शैलीमा देशका ५ ठूला सहरबाट पहिलो गीत सार्वजनिक गरेर रचनात्मक प्रचारको थालनी गरेको चलचित्र बुलबुलले त्यसपछि सार्वजनिक दुई टिजरमा चलचित्रका धेरै दृश्य देखाउनुको साटो एउटै दृश्यबाट फिल्मका दुई मुख्य पात्रलाई दर्शकसामु प्रस्तुत गरेको थियो ।

आइतबार प्रचारको सोही शैलीलाई निरन्तरता दिँदै निर्माण टिमले स्वस्तिमालाई एउटै फ्रेममा फरक रुपमा प्रस्तुत गरेको छ । युट्युबमार्फत सार्वजनिक सामाग्रीमा स्वस्तिमाले आफ्नै चलचित्रमा रनकला बनेकी स्वस्तिमासँग अन्तर्वार्ता लिएकी छिन् ।

निर्देशक विनोद पौडेलले स्वस्तिमाले चलचित्रमा निर्वाह गरेको चरित्र रनकलालाई दर्शकमाझ परिचित गराउन अन्तर्वार्ताको शैली अपनाएको बताए । पौडेलले भने, ‘स्वस्तिमाले आफूलाई कुन लेभलमा चरित्रका लागि रुपान्तरण गरेको छ, भिडियो हेर्दा स्पष्ट हुन्छ ।’

चलचित्रले टेम्पो चालक महिलाको दैनिकीलाई पर्दामा प्रस्तुत गर्नेछ । चलचित्रमा स्वस्तिमा खड्काले टेम्पो चालकको भूमिका निर्वाह गरेकी छिन् । उनले एक महिनाभन्दा बढी समय दिएर टेम्पो चलाउन सिकेकी थिइन् ।

भिडियोसँगै निर्माण टिमले चलचित्रको ट्रेलर सार्वजनिक गर्ने मिति पनि सार्वजनिक गरेको छ । निर्माता अविरल थापाले माघ १ गते चलचित्रको ट्रेलर सार्वजनिक गर्ने जानकारी गराए । चलचित्रमा बुद्धि तामाङ, मुकुन भुसाल, उज्वल अधिकारी, दीपक क्षेत्री, जोयस पाण्डे, एलिना कार्की आदि कलाकारको अभिनय रहेको छ ।

सुसन प्रजापतिको छायांकन रहेको चलचित्रलाई विनोद पौडेलले लेखेका हुन् । फिल्मलाई पुरुषोत्तम पाण्डे, अबिरल थापा, भिम थापा र राजु पौडल मिलेर बनाएका हुन् । रामराजा दाहाल चलचित्रका कार्यकारी निर्माता हुन् ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu