चर्चित युवा ज्योतिष हरिहर अधिकारीको डेब्यु चलचित्र ‘शुभ लभ’ को अहिले धमाधम छायांकन भइरहेको छ । कम उमेरमै ज्योतिष विधामा आफूलाई स्थापित गराइसकेका उनले यस चलचित्रमा नव अभिनेत्री क्रिस्टिन पौडेलसँग रोमान्स गरेका छन् ।
अधिकारीकै कथामा आधारित यस चलचित्रको हाल पोखरामा छायांकन भइरहेको छ । चैत १५ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको चलचित्रको दुई गीत खिच्नमात्र बाँकी रहेको निर्देशक सन्तोषबाबु लोहनीले बताएका छन् । दुईमध्ये अहिले चलचित्रको टाइटल गीत खिच्ने काम भइरहेको छ ।
‘तिमी हुन्छौ भने मेरो शुभ लभ’ गीतमा हरिहरलाई नव-अभिनेत्री क्रिस्टिन पौडेललाई फकाउँदै गरेको देखिनेछ । गीतबारे प्रस्ट्याउँदै निर्देशक लोहनीले भने, ‘सेमिनारका लागि पोखरा पुगेको हिरो (हरिहर) ले रिसाएकी प्रेमिका (क्रिस्टिन) फकाउँदै गरेको दृश्य गीतमा उनेका छौं ।’
गीत खिच्न अझै ३ दिन लाग्नेछ । छायांकन भइरहेको गीतमा निशान भट्टराईको स्वर छ भने अर्जुन पोखरेलको शब्द तथा संगीत छ । गीतमा हरिहर र क्रिस्टिनलाई कोरियोग्राफर रामजी लामिछानेले नचाइरहेका छन् । चलचित्रको एक गीत भने दुबईमा खिचिने निर्देशक लोहनीले बताए ।
चलचित्रमा हरिहर र क्रिस्टिनका अलावा सरोज खनाल, प्रदीप बाँस्तोला, रवीन्द्र झा, राजाराम पौड्याल, डा.सूर्या थापा लगायतको पनि अभिनय रहेको छ । धर्मराज सुवेदीको लगानी रहेको चलचित्रको प्रस्तुतकर्ताका रूपमा प्रदीपकुमार उदय रहेका छन् ।