अर्पणको अनुभवः ‘‘अनागत’ को क्यारेक्टरबाट निस्कनै गाह्रो भयो’’



करीब साढे २ वर्ष अगाडि छायांकन सकिएको चलचित्र हो ‘अनागत’ । यसमा अभिनेत्री प्रियंका कार्की र अभिनेता अर्पण थापा प्रमुख भूमिकामा छन् । माघ ११ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्रमा परिवारमा शंका उत्पन्न भएपछि आउने परिस्थितिलाई देखाइएको निर्देशक साम्तेन भुटियाले बताए ।

‘श्रीमान्-श्रीमतीबीचको मानसिक द्वन्द्वको कथा हो ‘अनागत’ । यसमा धेरथोर आर्ट कल्चरमा काम गर्ने कोशिश गरेको छु’, चलचित्रको विषयमा जानकारी दिन बुधबार आयोजित पत्रकार सम्मेलनमा निर्देशक भुटियाले भने, ‘यो साइकोलजिकल थ्रिलर जनराको चलचित्र हो ।’ निर्देशक भुटिया, अर्पण र प्रियंकालाई फरक चरित्रमा उतारेको बताउँछन् ।

चलचित्रमा अर्पणले एक चित्रकारको भूमिका निभाएका छन् । उनले उक्त भूमिका आफ्नो करिअरको सबैभन्दा कठिन र सम्झनलायक रहेको बताए । उनी चलचित्रमा निभाएको भूमिकाबाट आफू लामो समय बाहिर निस्कन नसकेको पनि सम्झन्छन् । ‘मबाट केही फरक खोज्ने दर्शकले छुटाउन नहुने चलचित्र हो यो’, उनले भने ।


‘यो पहिलो चलचित्र होला मेरो लाइफमा, जुन चलचित्रको क्यारेक्टर मैले गरिसकेपछि धेरै समय मसँग नै बसेको थियो’, उनले अगाडि भने, ‘आफ्नो क्यारेक्टरलाई न्याय दिन सेट तयार नहुँदासम्म म सुतिरहन्थेँ । निर्देशक साम्तेनले सेट ‘रेडी’ भयो उठ भनेपछि उठ्थेँ र सुटिङ गर्थेँ ।’ उनले ‘अनागत’ को क्यारेक्ब्टर विर्सन निकै गाह्रो भएको बताए ।

उनी ‘अनागत’ लाई आफूले गरेको अन्य चलचित्रभन्दा मनैबाट सन्तुष्टि भएको चलचित्रको रुपमा लिन्छन् । यस्तै, अभिनेत्री प्रियंका आफूलाई दर्शकले चलचित्रमा विल्कुलै फरक भूमिकामा देख्न पाउने पाइन् । उनी भन्छन्, ‘हरेक चलचित्रमा भूमिका त फरक नै हुन्छ तर यसमा साँच्चै नै फरक छ ।’ उनले चलचित्रमा आफू कृतिको भूमिकामा रहेको बताइन् ।


उनी भन्छिन्, ‘कृतिलाई प्रियंकाभन्दा टाढा राखेर काम गर्ने कोशिश गरेको छु । चलचित्रमा तडकभडक केही छैन । एउटा साधारण कथामा बनेको फिल्म हो । ‘अनागत’ अलि डार्क र इमोसनल छ ।’ अभिनेता प्रविण खतिवडाले भने आफू रियलझैं चलचित्रमा पनि थिएटर आर्टिस्टकै भूमिकामा रहेको बताए ।

चलचित्रमा समीर उपाध्याय, चन्द्र कुमार झा, स्व. निलु डोमा शेर्पा र निर्देशक भुटिया स्वयं निर्माता रहेका छन् । चलचित्रलाई सिसन बानियाँले खिचेका हुन् भने चन्द्र कुमार झाको कथालाई प्रवचन श्रेष्ठ र भुटियाले पटकथाको स्वरूप दिएका हुन् । चलचित्रमा रोशिन सुवेदी, अरुण रेग्मी, सम्राट थापा, अनु शर्मालगायतका कलाकारहरुको पनि अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu