साम्तेनको कमेडी फिल्म गर्दै आर्यन



निर्देशक साम्तेन भुटिया र अभिनेता आर्यन सिग्देलबीच टिमअप भएको छ । निर्देशक भुटियाको एक कमेडी चलचित्रमा आर्यन अनुबन्ध भएका छन् । फागुनबाट चलचित्रको छायांकन आरम्भ हुँदैछ । नाम भने तय गरिएको छैन ।

साम्तेनले आर्यनभित्र लुकेको एउटा पाटो चलचित्रमा देखाउन लागेको बताए । उनी भन्छन्, ‘आर्यनलाई प्रायः लभर ब्वाईको भूमिकामा देखिँदै आएको हो । तर, आर्यनको खासै नदेखेको पाटो कमेडी हो, त्यो जुन पनि चलचित्रमा निकै थोरै आउँछ । यसमा भरपूर हुनेछ ।’


चलचित्रलाई ‘जस्टिफाइ’ गर्ने हुँदा आर्यन रोजिएको उनी बताउँछन् । चलचित्रको अर्को हप्ता औपचारिक निर्माण घोषणा गर्ने तयारीमा रहेका साम्तेनले हाल स्क्रिप्टमा काम भइरहेको बताए । चलचित्रमा आर्यनको अपोजिटमा नायिका भने फाइनल गरिएको छैन । निर्देशक भुटिया अहिले नायिकाको खोजी रहेका छन् ।

उनले चलचित्रमा हिरोइन नयाँ वा अहिले मार्केटमा चलेका जो पनि हुनसक्ने बताए । फिल्ममा आर्यनसँगै कलाकार भोलाराज सापकोटा पनि अनुबन्ध भइसकेका छन् । चलचित्र दुईकै वरिपरि घुम्नेछ । आर्यन अचेल विकासराज आचार्यको चलचित्र ‘हजार जुनीसम्म’ मा व्यस्त छन् । हाल सिक्किममा रहेका उनी केही दिनमा काठमाडौं फिर्दैछन् ।

किरण दाहाल र सन्देश अर्यालको कथामा आधारित भएर निर्माण हुन लागेको चलचित्रमा आर्यनलाई चित्त बुझ्दो पारिश्रमिक दिएर साइन गराएको निर्देशक भुटियाले बताए । उनी निर्देशित नयाँ चलचित्र ‘अनागत’ माघ ११ मा रिलिज हुँदैछ । उनको डेब्यु चलचित्र ‘लेटर’ थियो भने गएको वर्ष ‘तान्द्रो’ रिलिज भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu