सुरक्षा भन्छिन्, ‘‘गोपी’ जस्ता चलचित्रको भोको छु’’



पछिल्लो रिलिज चलचित्र ‘चंगा चेट’ मा देखिएकी अभिनेत्री सुरक्षा पन्तको प्रमुख भूमिका रहेको नयाँ चलचित्र ‘गोपी’ माघ १८ मा रिलिज हुँदैछ । यो चलचित्रमा उनी सोलो हिरोइनको रुपमा छैनन् । अभिनेत्री वर्षा राउत पनि छिन् । अभिनेता विपिन कार्की टाइटल क्यारेक्टरमा छन् ।

सुरक्षाले विपिनको प्रेमिकाको भूमिका निभाएकी छन् । यसअघि यो चलचित्रमा उनले ‘धनपति’ जोडी खगेन्द्र लामिछानेसँग काम गर्ने तय भएको थियो । फ्लोरमा निस्कनुभन्दा केही दिन अगाडि उनले हात झिकेपछि विपिन भित्रिएका हुन् । चलचित्रमा उनी भित्रनुको प्रमुख कारण सुरक्षा नै हुन् । उनले विपिनको नाम सिफारिस गरेपछि टिमले कुरा अगाडि बढेको थियो ।

अभिनेत्री वर्षा सिवाकोटीले पनि यो फिल्म छाडेकी थिइन् र उनको ठाउँमा वर्षा राउत भित्रिएकी हुन् । फ्लोरमा जानुभन्दा अगाडि नै कलाकार ‘इन’ र ‘आउट’ का कारण चर्चामा रहेको ‘गोपी’ लाई प्रत्यक्ष दर्शक र टिमको एक सदस्यको रुपमा सुरुवातदेखि नै अवलोकन गर्दै आएकी थिइन् सुरक्षाले ।

बिहीवार पत्रकारसँगको एक भेटमा चलचित्र बनाउनु भनेको गाई पाल्नुभन्दा कम सघर्षपूर्ण नहुने उनले सुनाइन् । ‘गोपी’ टिमले सुरुवाती अवस्थादेखि अहिलेसम्म सामना गर्नु परेको संघर्ष चलचित्रको कथावस्तुसँग लगभग मिल्दोजुल्दो रहेको बताउँदै सुरक्षा भन्छिन्, ‘चलचित्र बनाउन गर्नुपर्ने आर्थिक संघर्ष, मानसिक तनाव, अरुले विश्वास नगर्ने, कति छुटिने त कति जोडिने कुराहरु गाई पाल्ने व्यक्तिको जीवनसँग यदाकदा सम्बन्धित हुँदो रहेछ ।’

उनी आफू ‘गोपी’ जस्ता चलचित्रको लोभी रहेको पनि बताइन् । उनी मौलिक विषयमा बन्ने चलचित्र गर्न आफू सधैं तयार हुने बताउँछिन् । उनी भन्छिन्, ‘म चलचित्र क्षेत्रमा आउनुको कारण के थियो त्यो अझै खोजिरहेको छु । त्यो उद्देश्य चाहिँ ‘गोपी’ जस्तै चलचित्र गर्नका लागि रहेछ कि भन्ने महशुस गरिरहेको छु ।’

सीमित बजेट र नयाँ निर्माता तथा निर्देशक ‘गोपी’ जस्तै मौलिक चलचित्र बनाउने सोचमा भए आफू काम गर्न तयार रहेको उनले बताइन् । उनी भन्छिन्, ‘यस्ता चलचित्र बनाउँदै हुनुहुन्छ भने मलाई सम्झिँदा हुन्छ । म सधैं ‘रेडी’ छु ।’ कलाकारले कहिले स्क्रिप्ट त कहिले पैसा हेरेर पनि काम गर्नु पर्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu