‘सयकडा दश’ माथि ठूलो भरोसा छ : अमृत ढुंगाना



शहरिया युवापुस्तामाझ लोकप्रिय छन् अमृत ढुंगाना । युट्युबमा सर्वाधिक रुचाइएको वेव सिरिजबाट लोभलाग्दो सफलता चुमेका उनी अचेल चलचित्रमा बढी व्यस्त छन् । ‘सायद २’ उनको डेब्यु चलचित्र थियो । हालसालै उनी अभिनीत नयाँ चलचित्र ‘जय श्री दाम’ रिलिज भयो ।

तर, अपसोस ! दुबै चलचित्र बक्सअफिसमा असफल भए । ‘जय श्री दाम’ भन्दा ‘सायद २’ राम्रो चलेता पनि उनको हिट हुने सपना दुबै चलचित्रले पूरा गरेनन् । उनको ‘ब्याक टू ब्याक’ दुई चलचित्र फ्लप भएपछि युट्युबबाट कमाएको लोकप्रियताले चलचित्रलाई फाइदा नगर्ने बताउन थालिएको छ ।

केही समय अगाडिसम्म उनको लोकप्रियता ‘क्यास’ गर्न चाहने निर्माता/निर्देशक अब नाक खुम्च्याउन थालेका छन् । यसबीच उनको तेस्रो चलचित्र ‘सयकडा दश’ आउँदो माघ १८ गतेबाट प्रदर्शनमा आउँदैछ । यो चलचित्रबाट भने उनी निकै आशावादी छन् । उनी भन्छन्, ‘राहतको सास फेर्न पाउँछु भन्नेमा ढुक्क छु ।’


युट्युबबाट कमाएको फ्यान चलचित्रका लागि काम लागेन है ? उनीमाथि एक भेटमा पत्रकारको प्रश्न तेर्सियो । उनी आफू भएकै कारण चलचित्र बक्सअफिसमा सफल वा असफल हुने कुरामा विश्वास गर्दैनन् । उनी भन्छन्, ‘चलचित्र बनाएर मात्र हुँदैन । चलचित्र रिलिज हुँदैछ भन्ने जानकारी नै भएन भने दर्शक कसरी हलसम्म पुग्छन् ?’

दर्शकलाई जानकारी नै नभएका आफ्ना चलचित्र नचलेको उनको तर्क छ । ‘प्रचार राम्रो नगरेसम्म दर्शकलाई चलचित्रबारे थाहा नै हुँदैन । ‘सायद २’ को औषत थियो तर ‘जय श्री दाम’ को त प्रचार नै गरिएन । अनि कसरी चल्छ त चलचित्र ?’, उनले भने । उनी ‘जय श्री दाम’ जस्तो ‘सयकडा दश’ नहुनेमा भने विश्वस्त देखिन्छन् ।

प्रचार राम्रो भइरहेको र चलचित्र पनि उत्कृष्ट बनेका कारण ‘सयकडा दश’ माथि ठूलो भरोसा रहेको अमृत बताउँछन् । चलचित्रबारे आफ्नो भनाइ राख्दै उनी भन्छन्, ‘चलचित्रको कन्टेन्टमाथि पूरा भरोसा छ र अहिलेको सन्दर्भमा सबै नेपालीले हेर्नुपर्ने फिल्म हो यो ।’ उनले चलचित्रमा आफूले एक भष्ट्र पिताको छोराको भूमिका निभाएको बताए ।

भ्रष्टाचारले प्रेम, परिवार र समाजमा पारेको प्रभावको कथा भन्ने उक्त चलचित्रलाई ‘प्रेमगीत २’ फेम्ड लेखक तथा निर्देशक रामशरण पाठकले निर्देशन गरेका हुन् । चलचित्रमा अमृतका अलावा राजाराम पौडेल, मनोज गजुरेल, करुणा श्रेष्ठ, अमित पोखरेल, सोनिया राई, उत्सव न्यौपानेलगायतको अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu