‘गोपी’ मा भेटेरिनरी डाक्टर बन्न गाह्रो भयो : वर्षा राउत



दीपेन्द्र लामा निर्देशित चलचित्र ‘गोपी’ यही माघ १८ गतेबाट देशभर प्रदर्शनमा आउँदैछ । अहिले निर्माण टिम प्रचार प्रसार चुस्त बनाउन मोफसल दौडाहामा निस्किएको छ । चलचित्रमा प्रमुख भूमिकामा रहेका अभिनेता विपिन कार्की ‘गोपी’ लाई पृथक चलचित्र भन्न रुचाउँछन् ।

‘मैले पहिलो पटक चलचित्रमा किसानको भूमिका निभाएको हुँ’, चलचित्रको प्रचारका लागि चितवन पुगेका उनले पत्रकारसँग गफिँदै भने, ‘यसअघिका चलचित्रभन्दा मलाई यस चलचित्रमा फरकरुपमा देख्न पाउनुहुन्छ ।’ उनी चलचित्रमा सबैले देखेभोगेकै कथा रहेको बताउँछन् ।


‘हामी सबैले नजिकबाट देखेको र भोगेकै कथा भएता पनि चलचित्रमा यो कुरा आजसम्म आएको थिएन । यसकारण ‘गोपी’ दर्शकलाई मन पर्नेमा विश्वस्त छु’, उनले भने । यो चलचित्रमा उनको अपोजिटमा दुई अभिनेत्री छन्, सुरक्षा पन्त र वर्षा राउत । दुवै चलचित्रमा विपिनको प्रेमिकामा भूमिकामा छन् ।

फागुन २ गते प्रेमी संजोग कोइरालासँग लगनगाँठो कस्ने तयारीमा रहेकी वर्षा पनि अहिले चलचित्रको टिमसँगै मोफसल दौडाहामा छिन् । चितवन पुगेर उनले आफ्नो भूमिकामा विषयमा जानकारी दिइन् । उनले चलचित्रमा आफू भेटेरिनरी डाक्टरको भूमिकामा रहेको बताइन् । पशु चिकित्सकको भूमिका निभाउन गाह्रो भएको उनको अनुभव छ ।

उनी भन्छिन्, ‘गाईवस्तु निकै मनपर्छ तर धेरैनजिक भने कहिल्यै भइनँ । यसकारण पशु चिकित्सकको भूमिका निभाउन साह्रै गाह्रो भयो ।’ कलाकारसँगै मोफसल टुरमा रहेको चलचित्रका लेखक सामीप्यराज तिमल्सिनाले विदेश जाने लहर चलिरहेको अवस्थामा ‘गोपी’ ले स्वदेशमै केही गर्न सकिन्छ भन्ने सन्देश दिने बताए ।


१ करोड ५० लाखको लागतमा निर्माण भएको चलचित्रका कार्यकारी निर्माता श्रीधर पौडेल हुन् । आरोही केसी निर्माता रहेको यसमा भोला सापकोटा, अंकित खड्का, प्रकाश घिमिरे, रमेश अधिकारी, कुन्ती सिमलीलगायतका कलाकारहरुको पनि अभिनय छ । शैलेन्द्र डि. कार्कीले चलचित्र खिचेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu