‘प्रेम दिवस’ गीतमा कसको छेउ सर्ने कुरा गर्दैछिन् प्रियंका ?



आयुष्मान देशराज जोशी र प्रियंका कार्की अभिनीत चलचित्र ‘प्रेम दिवस’ को पहिलो गीत युट्युब रिलिज भएको छ । सोमवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको गीत ‘तिम्रो छेउ सरुँकी म’ मा अञ्जु पन्तको स्वर छ । यसमा महाराज थापाको शब्द तथा संगीत छ ।

गीतको भिडियोमा कोरियोग्राफर कविराज गहतराजले अभिनेत्री प्रियंकालाई एक्लै नचाएका छन् । जोडीको रुपमा कोही फिचर्ड छैनन् । गीतको अन्तिम एक सिनमा आयुष्मानलाई गाडीमा मुस्कुराउँदै देख्न सकिन्छ । भिडियोमा इलाम सन्दकपुरका लोभलाग्दा दृश्य कैद गरिएको छ ।

गीत सार्वजनिक कार्यक्रममा प्रियंकाले आफूलाई सबैभन्दा मनपर्ने गीतमा ‘तिम्रो छेउ…’ रहेको बताइन् । उनले भनिन्, ‘मैले गरेर मनपरेको भनेको होइन, अरुले गरेको भए पनि मलाई मनपर्थ्यो । मैले अचेल प्रायः गुनगुनाउने गीतमा पर्छ यो ।’ उनले गीत खिच्ने बेलाको दुःख पनि सम्झिइन् ।

आयुष्मान पनि आफूलाई उक्त गीत निकै मन परेको बताउँछन् । यो चलचित्रलाई ‘राधा’ फेम्ड निर्देशक योगेश घिमिरेले निर्देशन गरेका हुन् । यसअघि बैशाख १३ मा रिलिज हुने बताइएको यस चलचित्रको रिलिज निर्माण टिमले फेरबदल गरेको छ । अब जेठ ३ गतेबाट चलचित्र प्रदर्शनमा आउने छ ।

हेमन्त बुढाथोकी, शिव शंकर रिजाल, उत्तम केसी, सञ्जय न्यौपाने, श्रीकृष्ण लुइँटेललगायतका कलाकारहरुको पनि अभिनय रहेको चलचित्रबाट विशाल खरेलले डेब्यु गरेका छन् । चलचित्र एक युवतीसँग दुई युवकको प्रेममा आधारित छ । निर्देशक घिमिरे चलचित्रलाई म्यूजिकल लभस्टोरी भन्न चाहन्छन् ।

रोशन श्रेष्ठको द्वन्द्व रहेको चलचित्रमा बनिष शाह मिलन श्रेष्ठको सम्पादन, मानकृष्ण महर्जनको छायांकन र सत्यम राना अचुत बजगाईको भिएफएक्स छ । रमेश चौधरी र उत्सव ढकाल सह-निर्माता रहेको चलचित्रलाई कलाकार समेत रहेका सञ्जय न्यौपानेले निर्माण गरेका हुन् ।

गीत हेर्नुहोस् :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu