‘दाल भात तरकारी’ को ‘भिजिट भिसामा’ गीत सार्वजनिक (भिडियो)



गत वर्ष ‘शत्रु गते’ निर्माण गरेको टिमद्वारा निर्मित चलचित्र ‘दाल भात तरकारी’ को पहिलो गीत सार्वजनिक भएको छ । शुक्रवार राजधानीमा एक कार्यक्रमका बीच ज्योतिषले दिएको साइत अनुसार दिउँसो १ बजेर २७ मिनेटमा पत्रकारलाई देखाउँदै निर्माण टिमले निशान भट्टराई र अञ्जु पन्तको स्वर रहेको ‘भिजिट भिसामा’ बोलको गीत रिलिज गर्‍यो ।

गीतमा हरिवंश आचार्यको शब्द र शम्भुजीत बाँस्कोटाको संगीत सुन्न सकिन्छ । कोरियोग्राफर कविराज गहतराजको स्टेपलाई भिडियोमा चलचित्रका लिड कलाकारहरु हरिवंश आचार्य, निरुता सिंह, पुष्प खड्का, आँचल शर्मा, बर्षा राउत र राजाराम पौडेलले फलो गरेका छन् । गीतले चलचित्रप्रति दर्शकमा झनै उत्सुकता जगाउने निश्चित छ ।


कलाकार हरिवंशले फिल्मको भाव सुहाउँदो गीत रहेको बताए । चलचित्रको हाइप निर्माणमा सार्वजनिक गीतले ठूलो भूमिका खेल्नेमा विश्वस्त रहेको उनी बताउँछन् । बैशाख १३ गतेबाट प्रदर्शनमा आउन लागेको ‘दाल भात तरकारी’ मा अझै दुई गीत छन् । चलचित्रलाई कलाकार किरण केसीका छोरा सुदन केसीले निर्देशन गरेका हुन् ।

मह संचारको ब्यानरमा निर्माण भएको चलचित्रका प्रस्तुतकर्ता किरण केसी हुन् । चलचित्रले हरेक मानिसले दाल भात तरकारी खानका लागि गर्ने संघर्षको कथा भन्छ । चलचित्रको कथा हरिवंश आचार्यले लेखेका हुन् । पटकथा तथा संवाद पनि उनकै हो । चलचित्रमा हरिवंश र निरुताको जोडी बाँधिएको छ ।

विल्सन विक्रम राई, राजाराम पौडेल, यमन श्रेष्ठ, शिवहरी पौडेल, किरण केसीलगायतका कलाकारहरुको पनि चलचित्रमा अभिनय रहेको छ । गीत सार्वजनिक कार्यक्रममा बोल्दै प्रस्तुतकर्ता केसीले चलचित्र राम्रो बनाउन कुनै कुरामा कञ्जुस्याइ नगरेको बताए । उनी गीतजस्तै चलचित्र पनि राम्रो बनेको बताउँछन् ।

गीत हेर्नुहोस् :-

अभिनेता पुष्पले राम्रो टिमसँग काम गर्न पाउँदा एकदमै खुसी छु । उनी उक्त चलचित्र आफ्नो करियरका लागि कोशेढुंगा साबित हुनेमा विश्वस्त छन् । मित्र डि. गुरुङको सम्पादन रहेको चलचित्रलाई दिर्घ गुरुङले खिचेका हुन् । ‘दाल भात तरकारी’ मा प्रमिला आचार्य, यमन श्रेष्ठ, नरेन्द्र कंशाकार, शिवहरी पौडेललगायत निर्मातामा छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu