‘सम्हालिन्छ कहिले मन’ घोषणा, आकाश र सोनममध्ये कसकी पूजा ?



निर्देशक सुदर्शन थापाको निर्देशनमा बन्न लागेको नयाँ चलचित्र ‘सम्हालिन्छ कहिले मन’ को औपचारिक निर्माण घोषणा गरिएको छ । आइतबार राजधानीमा एक कार्यक्रमका बीच निर्माण टिमले चलचित्रको निर्माण घोषणासँगै कलाकार र प्राविधिकलाई सार्वजनिक गर्‍यो ।

सम्पूर्ण छायांकन यूकेमा हुने यस चलचित्रमा अभिनेत्री पूर्जा शर्माले अभिनेता द्वय आकाश श्रेष्ठ र सोनम तोप्देनसँग रोमान्स गर्दैछिन् । आकाशसँग यसअघि उनले ‘रामकहानी’ मा काम गरेकी थिइन् भने सोनम नेपाली फिल्मका लागि नयाँ अनुहार हुन् । चलचित्र पूर्ण रुपमा लभस्टोरी कथामा निर्माण हुनेछ ।


गौरी मल्ल, सरोज खनाल, धिरेन शाक्यलगायतका कलाकारहरुको पनि चलचित्रमा अभिनय रहनेछ । महेश दवाडीको कथामा आधारित भएर निर्माण हुने चलचित्रका गीतमा अर्जुन पोखरेल, सुगम पोखरेल र ताराप्रकाश लिम्बुले संगीत भरेका छन् । चलचित्रलाई सौरभ लामाले खिच्दैछन् ।

कार्यक्रममा बोल्दै अभिनेत्री पूजाले ‘सम्हालिन्छ कहिले मन’ मा दर्शकलाई ‘मिस’ भइरहेको ‘प्रेमगीत’ को ‘गीत’ को क्यारेक्टरभन्दा पनि रमाइलो रहेको बताइन् । उनले भनिन्, ‘मलाई यसअघिका चलचित्रमा भन्दा यसमा विल्कुलै फरक भूमिकामा देख्न पाउनुहुन्छ ।’ उनले चलचित्रमा सोनम आफ्नो रोजाइ रहेको पनि खुलाइन् ।


अभिनेता आकाशले भने दोस्रो पटक आफूलाई विश्वास गरेर चलचित्रमा रोजेकोमा निर्देशक सुदर्शनलाई धन्यवाद दिए । उनी भन्छन्, ‘म आफूले पाएको भूमिकालाई न्याय गर्न कुनै कसर बाँकी राख्ने छैन । फेरि दर्शकको माया पाउँछु भन्नेमा विश्वस्त छु ।’ अर्का अभिनेता सोनमले चलचित्रमा उत्कृष्ट काम पस्किन सक्दो मेहनत गर्ने बताए ।

कविराज गहतराजको कोरियोग्राफी रहने चलचित्र अमित​ कुमार​ ब​स्नेतको निर्माणमा बन्न लागेको हो । चलचित्रमा परि राना र अजित​ कुमार​ थापा सह-निर्मातामा छन् भने अंकित गौतम कार्यकारी निर्मातामा छन् । गायक सुगम पोखरेलको चर्चित गीत ‘सम्हालिन्छ कहिले मन’ बाट चलचित्रको नाम सापटी लिइएको हो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu