‘गोपी’ गरेर सन्तुष्ट छु : विपिन कार्की



हरेक चलचित्रमा फरक चरित्रमा देखिने अभिनेता विपिन कार्की यही माघ १८ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘गोपी’ मा एक गाईपालकको चरित्रमा प्रस्तुत छन् । उनी उक्त चलचित्रमा अभिनय गर्न गाह्रो नभएको बताउँछन् ।

विगत सम्झँदै उनी भन्छन्, ‘कुनै समय गाईका लागि घाँस काटेँ, दुध दोहेँ, कुँडो पकाएँ, दुध बोकेर डेरी पुगेँ । यसकारण पनि ‘गोपी’ मा गाईपालकको भूमिका निभाउन गाह्रो महशुस भएन । बरु, मलाई जीवनको नजिक पुगेको आभाष भयो ।’ उनी भविष्यमा गाई पालेर बस्न सक्ने पनि बताउँछन् ।

उनी यो चलचित्रका लागि पहिलो रोजाइ भने थिएनन् । उनीभन्दा अगाडि चलचित्रमा अभिनेता खगेन्द्र लामिछाने फाइनल भएका थिए । तर, फ्लोरमा निस्कन एक हप्ता बाँकी रहँदा उनले चलचित्र नगर्ने निधो गरे र रातारात विपिनलाई निर्माण टिमले अनुबन्ध गर्‍यो । विपिन हतारमा चलचित्र गर्ने निर्णय लिनु परेको भएता पनि कथावस्तुले तानेर फिल्म गर्न तयार भएको बताउँछन् ।


उनले एकै बसाइमा चलचित्रको स्क्रिप्ट पढिसकेका थिए । पत्रकारसँगको एक भेटमा उनले भने, ‘मैले आजसम्म कुनै चलचित्रको स्क्रिप्ट एकै बसाइमा पढिसकेको थिएन । करीब ३ घण्टामा ‘गोपी’ को स्क्रिप्ट पढिसकेको थिएँ । स्क्रिप्ट पढेपछि लाग्यो कि यो चलचित्र छाड्नुहुन्न । किनकि, स्टोरीले मेरो मन छोयो अनि चलचित्र गर्न राजी भएँ ।’

चलचित्र गर्ने निर्णय छिटै लिए पनि कामबाट सन्तुष्ट रहेको उनको भनाइ छ । ‘मैले आफ्नो चरित्रलाई न्याय गर्न सकेँ वा सकिनँ त्यो त अब दर्शकले फिल्म हेरेपछि भन्नुहुनेछ । तर, म यो चलचित्र गरेर सन्तुष्ट छु’, उनले सुनाए । उनी ‘गोपी’ गर्नुको पछाडि फरक कथावस्तु रहेको बताउँछन् । ‘यसै पनि म फरक कथामा काम गर्न रुचाउँछु र ‘गोपी’ मैले खोजे जस्तै पाएँ’, उनले भने ।

अभिनेता कार्की ‘गोपी’ जस्तो फरक विषयवस्तुमा चलचित्र बन्न आवश्यक रहेको पनि औंल्याउँछन् । यो चलचित्रलाई ‘घामपानी’ फेम्ड निर्देशक दीपेन्द्र लामाले निर्देशन गरेका हुन् । उनले यस चलचित्रले स्वदेशमै नीजि व्यवसाय गरेर बस्ने/चाहने युवाहरुलाई प्रोत्साहन गर्ने बताए । चलचित्र समीक्षक समेत रहेका उनी चलचित्रको समीक्षा गर्नुभन्दा चलचित्र बनाउन अत्यन्त गाह्रो रहेको पनि बताउँछन् ।

‘गोपी’ मा अभिनेत्री द्वय वर्षा राउत र सुरक्षा पन्त, विपिनको प्रेमिकाको रुपमा छन् । अंकित खड्का, भोलाराज सापकोटालगायतका कलाकारहरु पनि चलचित्रमा छन् । आरोही केसी निर्माता रहेको चलचित्रमा सञ्चारकर्मी श्रीधर पौडेल कार्यकारी निर्माताको रुपमा रहेका छन् । सामिप्यराज तिमल्सिनाको स्क्रिनप्ले रहेको उक्त चलचित्रलाई शैलेन्द्र डि. कार्कीले खिचेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu