बैंककमा ‘सयकडा दश’ को वाहवाही



माघ १८ गतेबाट देशभर प्रदर्र्शनमा आउन लागेको चलचित्र ‘सयकडा दश’ को पहिलो प्रिमियर बैंककमा भएको छ । मेजर एकमाइ हलमा भएको प्रिमियरमा नेपाली राजदूतको समेत सहभागी रहेको थियो भने बैंककमा बसोबास गर्दै आएका नेपालीहरुको उल्लेख्य संख्यामा उपस्थिति रहेको थियो ।

थाइ नेपाली संघको आयोजनामा भएको प्रिमियरमा बर्मा र थाइल्यान्डका नेपाली भाषी समेत उपस्थित रहे । नेपालदेखि प्रिमियरमा भाग लिन निर्माता एवं अभिनेता राजाराम पौडेल पुगेका थिए । बर्मेली अभिनेत्री सोनिया राईको डेब्यु भएकाले चलचित्रलाई उक्त थलोमा महत्वका साथ लिइएको थियो ।


प्रिमियरमा पौडेल र अभिनेत्री राई मुख्य आकर्षणको केन्द्र बनेका थिए । थाइल्यान्डका लागि कार्यवाहक नेपाली राजदूत जंगबहादुर गुरुङ, थाइ नेपाली संघका अध्यक्ष कुमार कार्की, संस्कृति विभाग प्रमुख नानु कार्की लगायत तीनसय बढीले फिल्म हेरे । प्रिमियरपछि प्राप्त प्रतिक्रियाले निर्माता पौडेल खुसी छन् ।

राजदूत गुरुङले सामाजिक कथावस्तुले भरिपूर्ण चलचित्रलाई सरकारले बनाउनुपर्नेमा नीजि क्षेत्रबाट बनेकोमा धन्यवाद दिए । थाइ नेपाली संघका अध्यक्ष कार्कीले पुर्खाको देशको अवस्था चलचित्रमा हेर्दा दुःख लागेपनि फिल्म हेरेर युवा कस्सिए नेपाल भ्रष्टाचारमुक्त हुने बताए ।

अभिनेता पौडेलले आफूले आफूलाई पर्दामा हेर्दा रिस उठेको बताए । ‘जुन भूमिका मैले गरेको छु त्यसले हाम्रा नेताहरुको अनुहार झल्काउँछ’ उनले भने, ‘यसले मप्रति नै रिस उठ्यो ।’ पौडेलले युवालाई चलचित्र हेर्न आग्रह गरे । उनले अगाडि भने, ‘यो चलचित्र हेरिसकेपछि म विश्वासका साथ भन्छु केही चेतना त ल्याउँछ ल्याउँछ ।’


चलचित्रलाई रामशरण पाठकले निर्देशन गरेका हुन् । यो उनको दोस्रो निर्देशित चलचित्र हो । यसअघि उनले ‘प्रेमगीत २’ निर्देशन गरेका थिए । चलचित्रमा मनोज गजुरेल, राजाराम पौडेल, अमृत ढुंगाना, करुणा श्रेष्ठ लगायतको मुख्य भूमिका छ ।

थाइल्यान्डका अन्य सहरमा समेत प्रदर्शन हुँदैछ भने म्यानमार प्रिमियर समेत आयोजना गरिएको छ । चलचित्र निर्माताले यी तीन देशबीच संस्कृति, अर्थतन्त्र विस्तारमा फिल्मले भूमिका खेल्ने अपेक्षा गरेका छन् । भ्रष्टाचारले प्रेम, परिवार र समाजमा पारेको प्रभावको कथा चलचित्रले भन्छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu