कलाकारदेखि नेतासम्मलाई मनपर्‍यो ‘गोपी’



माघ १८ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘गोपी’ को सोमवार राजधानीमा विशेष शोको आयोजना गरिएको छ । ‘गोपी’मा गाई पालक कृषक ‘गोपी’को कथा समेटिएको छ । चलचित्रको विशेष शोमा नेपाली राजनीतिक व्यक्तिहरु, सरकारी उच्च ओहोदामा रहेका व्यक्तिहरु, व्यापारीहरुसँगै विभिन्न कलाकारहरुको उपस्थिती रहेको थियो ।

विशेष सो पश्चात् अभिनेता दीपकराज गिरीले ‘गोपी’ हेर्न छुट्टै दृष्टिकोण लिएर आउनु पर्ने बताए । उनले भने, ‘किसानलाई एउटा गर्व गर्न लायकको चलचित्र बनेको छ । कलाकारको अभिनय, कथावस्तु र निर्देशकीय पक्ष अब्बल छ ।’ निर्देशक दीपाश्रीले विषयवस्तु अनुसार चलचित्र कलात्मक रहेको बताइन् ।


हास्यकलाकार केदार घिमिरे (माग्ने बुढा) ले चलचित्रको कथावस्तु मन परेको बताए । उनले भने, ‘भन्नलाई हाम्रो देश कृषिप्रधान भनिन्छ तर अहिले पासपोर्टप्रधान भइसकेको छ । चलचित्रमा कृषकको समस्या पनि सटिक ढंगले देखाइएको छ । यो चलचित्रले देशमै केही गर्न उत्प्रेरणा चाहिँ जगाउँछ ।’


अर्का हास्यकलाकार जीतु नेपालले ‘गोपी’ नेपाल सरकार, कृषि मन्त्रालयले बनाउनु पर्ने चलचित्र रहेको बताए । ‘अब कृषि मन्त्रालयसँग के छ भन्दा ‘गोपी’ चलचित्र छ भन्ने चाहिँ हुन्छ’, उनले भने । चर्चित संगीतकार अर्जुन पोखरेलले पनि फिल्मको प्रशंसा गरे । उनले आफूलाई पनि संगीतको गोपी भन्न रुचाए ।


नेता योगेश भट्टराई, पुर्व संचार मन्त्री मोहन बस्नेत, नेत्री नविना लामा, प्रहरी महानिरीक्षक सवेन्द्र खनाललगायतले नेपाली मौलिक कथा बोकेको चलचित्र हेर्न पाएकोमा खुसी ब्यक्त गरे । सम्भावनाको खोजी गर्न सके नेपालमै बसेर आर्थिक रुपमा सवल बन्न सकिने सन्देश चलचित्रले दिएको उनीहरुको भनाइ छ ।


विषेश सोबाट प्राप्त प्रतिक्रियाले उत्साहित बनाएको निर्देशक दीपेन्द्र लामाले बताएका छन् । चलचित्रमा विपिन कार्की, वर्षा राउत, सुरक्षा पन्त, भोला सापकोटा, अंकित खड्का, प्रकाश घिमिरे, रमेश अधिकारी, कुन्ती सिमलीलगायतका कलाकारहरुको अभिनय छ । आरोही केसी निर्माता रहेको चलचित्रमा श्रीधर पौडेल कार्यकारी निर्माताको रुपमा छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu