‘गोपी’ लाई सहयोग गर्ने कृषि मन्त्रीको आश्वासन



कृषिमन्त्री चक्रपाणि खनालले चलचित्र ‘गोपी’ प्रेरणादायी कथामा बनेको बताउँदै चलचित्रलाई राष्ट्रले नै सहयोग गर्नुपर्ने बताएका छन् । बुधबार सिटी सेन्टरस्थित बिग मुभिजमा चलचित्रको कर्पोरेट सोमा उपस्थिति जनाउँदै उनले ‘गोपी’ लाई केही सहयोग गर्ने आश्वासन पनि दिए ।

उनले भने, ‘किसानका धेरै समस्याहरु छन् । चलचित्रले देखाएको किसानको समस्यालाई सरकारले समाधान गर्नेछ ।’ नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले चलचित्रले नेपालका किसानहरुको वास्तविकता उतारेको बताइन् । उनले भनिन्, ‘किसानहरुको समस्यालाई चलचित्रले एकदमै सहज र सरल तरिकाले उठाएको छ । यही नै हो किसान र कृषि क्षेत्रको वास्तविक समस्या भनेकै ।’

नेपाल डेरी एसोसिएसनका निर्वतमान अध्यक्ष तथा सिताराम गोकुल मिल्कका प्रवन्ध निर्देशक सुमित केडियाले किसानको समस्या मात्र चलचित्रले उजागर गरेको बताए । उनी डेरी क्षेत्रमा पनि ठूलो समस्या रहेको बताउँछन् । उनले भविष्यमा डेरी क्षेत्रको समस्यामाथि पनि चलचित्र निर्माण गर्न आग्रह गरे ।

चलचित्रमा अभिनेता विपिन कार्की गाईपालकको भूमिकामा छन् । उनको अपोजिटमा अभिनेत्री द्वय वर्षा राउत र सुरक्षा पन्त छन् । गाईपालन गर्दा किसानले झेल्नु पर्ने अनेकौं समस्यालाई चलचित्रमा सरल ढंगले देखाइएको छ । एकपटक असफल हुँदैमा निराश हुनु हुँदैन भन्ने उत्प्रेरणा पनि चलचित्रले दिएको छ ।

दीपेन्द्र लामाको निर्देशनमा बनेको चलचित्रको पटकथा सामिप्यराज तिमल्सिनाले तयार पारेका हुन् । श्रीधर पौडेलले कार्यकारी निर्माता रहेको चलचित्रमा अंकित खड्कम, भोलाराज सापकोटा, प्रकाश घिमिरेलगायतका कलाकारहरुको पनि अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu