सलिनमान स्टारर ‘यात्रा’ टिजर रिलिज (भिडियो)



चलचित्र ‘ए मेरो हजुर २’ बाट जबरजस्त डेब्यु गरेका अभिनेता सलिनमान बनियाँ स्टारर फिल्म ‘यात्रा’ को अफिसियल टिजर रिलिज भएको छ । बिहीवार राजधानीमा एक कार्यक्रमका बीच निर्माण टिमले प्रेम र एक्सन मिश्रित कलरफुल टिजर पत्रकारलाई साक्षी गरेर सार्वजनिक गर्‍यो ।

१ मिनेट २ सेकेण्डको टिजरमा अभिनेता सलिन र नव-अभिनेत्री मल्लिका महत्तको प्रेमलाई विशेष ‘फोकस’ गरिएको छ । सलिनलाई एक्सन गर्दै पनि देख्न सकिन्छ । अभिनेता सलोन भने क्रोधित मुद्रामा बन्दुक तेर्साइरहेका छन् । उनी चलचित्रमा भिलेनको भूमिकामा रहेको अनुमान काट्न सकिन्छ ।

सम्राट शाक्यको डेब्यु निर्देशन रहेको चलचित्रमा जान्वी बस्नेत, प्रेक्षा बज्राचार्य, धिरेन शाक्य, राजाराम पौडेललगायतको चलचित्रमा अभिनय छ । विदेशी कलाकारहरु चाइनाका जुन झाङ र केन्याका बबीको पनि अभिनय रहेको छ । चलचित्रमा बालकलाकारको रुपमा युट्युबमा चर्चित अंकित संग्रौला र एन्जल राई रहेका छन् ।

यस चलचित्रलाई जर्नी लभस्टोरी भनिएको छ भने यसमा यात्राले ल्याउने परिस्थितिलाई देखाइनेछ । फिल्मलाई केशव भट्टराई र सुशील पोखरेलले संयुक्त रुपमा निर्माण गरेका हुन् । यसको कार्यकारी निर्माता सर्जुमान लिगल रहेका छन् । चलचित्रमा बिक्रम पराजुली, मुक्ति तिमल्सिना र रामशरण घिमिरे सह-निर्माता छन् ।

टिजर रिलिज कार्यक्रममा बोल्दै निर्माता भट्टराईले आफूले निर्माण गरेका यसअघिका चलचित्रमा भन्दा ‘यात्रा’ मा पाँच गुना बढी लगानी लागेको बताए । उनका अनुसार, चलचित्र रिलिज हुँदासम्म ३ करोड पुग्नेछ । निर्देशक शाक्यले चलचित्र राम्रो बनेको दाबी गरे । अभिनेता सलिनले भने ‘यात्रा’ माथि आफ्नो ठूलो आशा र भरोसा रहेको बताए ।

चलचित्रमा कथा पनि निर्देशक स्वयंको छ । संजय लामाको छायांकन रहेको चलचित्रमा कविराज गहतराज र प्रविन सिंहको कोरियोग्राफी, हिमाल केसीको द्वन्द र बनिश शाहको सम्पादन छ । चलचित्रमा वरिष्ठ संगीतकार शम्भुजित बाँस्कोटा, प्रतिक पौडेल र कोविद बज्रको संगीत रहेको छ । यो चलचित्र चैत २९ मा रिलिज हुँदैछ ।

टिजर हेर्नुहोस् :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu