भुवन र निरुतासँग अनमोलले लगाए ठुम्का (फोटोसहित)



सोमबार ललितपुरको एक पार्टी प्यालेसमा फागुन १७ गतेबाट प्रदर्शनमा आउन लागेको अभिनेता अनमोल केसी अभिनीत चलचित्र ‘क्याप्टेन’ को ‘कर्ली कर्ली’ बोलको गीतको छायांकन अहिले धमाधम भइरहेको छ ।

यो गीतमा अनमोलका पिता तथा नायक भूवन केसीलाई पनि आफ्नै स्टाइलमा देख्न पाइनेछ । अनमोल र भूवनको साथमा नायिका निरुता सिंहको स्टाइलले दर्शकलाई मोहित बनाउनेछ ।

मेलिना राई र एसडी योगीको आवाजमा तयार भएको यो गीतमा एसडीकै शब्द तथा संगीत छ । गीतको भिडियोको कोरियोग्राफी रेनशा वान्तवा राइले गरेकी थिइन् । रेनशा भन्दै थिइन्–‘गीत निकै नै मिठो छ । दर्शकले केही नयाँ स्वाद पाउनुहुनेछ ।’

यता, छोरा अनमोल केसीसँग पर्दामा देखिन लागेको भूवन केसी कहिलेकाही छोरातिर हेर्दै भन्थे–‘मैले नाचेपछि अनमोल नर्भस देखिन थाल्यो ।’ भूवनले यसो भन्दा अनमोल मुुसुक्क हाँस्थे मात्र ।

भूवन केसी र अनमोल केसीको जिस्क्याइमा रमाइरहेकी नायिका निरुता सिंहलाई यो गीतमा नृत्य गर्दा बेग्लै आनन्द लागिरहेको थियो । माघ महिनाको जाडोमा रातभर छायांकन गर्दा पनि निरुता थाकेकी थिइनन् । उनी भन्दै थिइन्–‘यो गीत नेपाली चलचित्रका दर्शकका लागि एउटा बेग्लै स्वाद हुनेछ ।’

फागूण १७ गतेबाट रिलिज हुन लागेको यो चलचित्रमा अनमोल केसीको साथमा उपासना सिंह ठकुरी, प्रियंका एमभी, सुनिल थापा, प्रशान्त ताम्राकार, विल्सन विक्रम राई मुख्य भूमिकामा छन् ।

यो गीतको बिषयमा निर्माता समेत रहेका भूवनले भने–‘इशान नाम गरेको पात्रले खेल जितिसकेपछि सेलिव्रेशनको क्रममा यो गीत पर्दामा आउनेछ । दर्शकका लागि अनमोल, म र निरुताको जोडी वेग्लै स्वाद हुने विश्वास लिएको छु ।’

दिवाकर भट्टराइको निर्देशनमा तयार भएको चलचित्रमा सुदिप बरालको छायांकन छ । यो गीत केही दिनमै रिलिज गर्ने तयारी यसको निर्माणपक्षले गरेको छ । कलाकारको पहिरनको डिजाइन स्वर्णिम राइले गरेकी हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu