‘कलिउड’, ‘क्लासिक’, ‘माला’, ‘छक्का पञ्जा’ लगायतका चलचित्रमा सँगै काम गरेका अभिनेता आर्यन सिग्देल र अभिनेत्री प्रियंका कार्की ‘नाइँ नभन्नू ल’ सिरिजका निर्देशक विकासराज आचार्य निर्देशित नयाँ चलचित्र ‘हजार जुनीसम्म’ मा देखिँदैछन् । अहिले यस चलचित्रको सिक्किममा छायांकन भइरहेको छ ।

उनीहरु यस चलचित्रमा पूर्व प्रेम-प्रेमिकाको भूमिकामा देखिने बताइएको छ । चलचित्रमा आर्यन एक छोराको पिताको भूमिकामा छन् । यसमा उनले आफ्नो गेटअपमा निकै परिवर्तन गरेका छन् । पिताको भूमिकामा फिट देखिन उनले दाह्री र जुँगा निकै बढाएका छन् ।
यस चलचित्रबाट हिरोको रुपमा अक्की प्रधानले डेब्यु गरेका छन् । चलचित्रमा अक्की, आर्यनको छोराको भूमिकामा देखिनेछन् । उनको जोडी अभिनेत्री स्वस्तिमासँग बाँधिएको छ । सलोन बस्नेत, शिवहरी पौडेल, उत्तम केसीलगायतका कलाकारहरुको पनि यसमा अभिनय रहेको छ ।

हालै चलचित्रको एक रोमान्टिक गीत सिक्किमको हिमाली भेगमा खिचिएको छ । माइनस ४ डिग्री तापक्रम रहेको चाँगु लेकमा खिचिएको गीतमा आर्यन र प्रियंकालाई फिचर गरिएको छ । गीत छायांकनको क्रममा खिचिएको तश्बिरमा दुईलाई रोमान्टिक मुडमा देख्न सकिन्छ । प्रियंका भने निकै बोल्ड देखिएकी छन् ।

चलचित्रलाई सिक्किमका सिएम पवन चाम्लिङका जेठा छोरा विशाल चाम्लिङले निर्माण गरेका हुन् । चलचित्रको काठमाडौं, पोखरा र सिक्किममा छायांकन भएको छ । केही दिनमा फिल्मको सम्पूर्ण छायांकन सकिने निर्माण टिमले जानकारी दिएको छ । बुबा र छोराको कथा वाचन गर्ने चलचित्रको कथा सामिप्यराज तिमिल्सना र निर्देशक आचार्यको हो ।




