म्यूजिक भिडियो निर्देशक तथा सम्पादक निशान कश्यपको चलचित्र निर्देशनमा हात हालेका छन् । उनको डेब्यू निर्देशनमा चलचित्र ‘परी’ निर्माण हुने भएको छ । यस चलचित्रको सोमवार औपचारिक निर्माण घोषणा गरिएको छ ।

चलचित्रमा विपिनको अपोजिटमा श्रृष्टि खड्का रहनेछिन् । बैशाखबाट छायांकन सुरु हुने चलचित्रका लागि साढे एक करोडको बजेट छुट्याइएको छ । चलचित्रलाई रुपेशमान अमात्यले निर्माण गर्नेछन् । फिल्मको कन्सेप्ट निर्देशक कश्यप स्वयंको हो । यसले संवेदनशिल विषय उठाउने बताइएको छ ।

निर्देशक कश्यपले घोषणा सभामा भने, ‘एउटा उत्कृष्ट चलचित्र बनाउने इमान्दार प्रयास गर्नेछौं । चलचित्र रमाइलो, पारिवारिक र सस्पेन्स थ्रिलर हुनेछ ।’ आरएन आइकनको ब्यानरमा बन्ने चलचित्रलाई पुरुषोत्तम प्रधानले खिच्नेछन् । चलचित्रका लागि छनोट भएका बाँकी कलाकार भने केही दिनमा सार्वजनिक गर्ने निर्देशक कश्यपले बताए ।

निपिल शर्माको कथा लेखन रहेको चलचित्रमा सफल केसी मुख्य सहायक निर्देशकको रुपमा रहनेछन् भने टौवा क्रियशनको काँधमा पब्लिसिटी डिजाइनको जिम्मेवारी छ । कार्यक्रममा बोल्दै अभिनेता विपिनले आफूले यसअघिका चलचित्रमा निभाएको भूमिकाभन्दा ‘परी’ मा विल्कुलै फरक रहेको बताए । अभिनेत्री खड्काको भने यो डेब्यू चलचित्र हो ।




