‘दर्पण छाँया’, ‘हामी साथी भाइ’, ‘मुगलान’ जस्ता दर्जन बढी सुपरहिट चलचित्र दिएका अभिनेता दीलिप रायमाझीले एकजनाले नभइ टिमले गर्दा चलचित्र सफल बताएका छन् । कुनै समय नेपाली सिनेमा क्षेत्रमा एकछत्र राज गरेका उनले चलचित्र चल्न कलाकार, निर्माता, निर्देशक, नृत्य, द्वन्द्व, गीतसंगीत सबैको तालमेल हुनुपर्ने कुरामा जोड दिए ।
चलचित्र पत्रकार संघ, नेपाल दाङ शाखाले शनिबार तुलसीपुरमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा दिलिप रायमाझीले आफूलाई ‘दर्पण छाँया’ जस्तै सुपरहिट चलचित्र फेरि गर्न मन भएता पनि भनेजस्तो टिम भेटाउन नसकेको बताए । दुई दशक अगाडि प्रदर्शनमा आएको तुलसी घिमिरे निर्देशित यो चलचित्र उनका लागि टर्निङ प्वाइन्ट साबित भएको थियो ।
अमेरिका बसाईपछि चलचित्रमा कमब्याक किन सुखद हुन सकेन ? भन्ने पत्रकारको जिज्ञासामा रायमाझीले भने, ‘मैले भनेनी चलचित्र म एक्लैले गर्दा सफल हुने होइन । चलचित्र भनेको टिमवर्क हो । सायद टिमवर्क राम्रो नभएका कारण मेरा पछिल्ला चलचित्र सफल भएनन् ।’ उनले आफू तत्काल चलचित्र निर्देशन गर्ने सोचमा नभएको पनि स्पष्ट पारे ।
‘अझै केही समय बाहिरी ब्यानरको चलचित्र गर्ने सोच छ । भविष्यमा चलचित्र निर्देशन नै गर्दिनँ भन्ने त होइन तर तत्काल म आफैंले निर्देशनको जिम्मेवारी उठाउन तयार भइसकेको छु जस्तो लागेको छैन’, उनले भने । उनले आगामी दिनमा टिम र स्क्रिप्ट हेरेर मात्र चलचित्र छनोट गर्ने बताए ।