तुलसी घिमिरे निर्देशित दुई दशक अगाडिको सुपरहिट चलचित्र ‘दर्पण छायाँ’ को सिक्वेल दीलिप रायमाझी, निरुता सिंह र उत्तम प्रधानले मिलेर निर्माण गर्ने भएका छन् । हुनत, नयाँ कथामा नयाँ कलाकारलाई लिएर यस चलचित्रको दोस्रो पार्ट निर्माण भइसकेको छ । अब सिक्वेल भने ‘दर्पण छायाँ’ जहाँ अन्त्य भएको थियो त्यहीबाट सुरु हुनेछ ।
अहिले चलचित्रको कथा अभिनेता उत्तम प्रधानले लेखिरहेका छन् । चलचित्रलाई ‘दर्पण छायाँ’ जोडी उत्तम, निरुता र दीलिपले निर्माण गर्नेछन् भने अभिनय पनि उनीहरुको नै रहनेछ । निर्देशन तुलसी घिमिरे गर्ने सम्भावना प्रवल छ । एक साप्ताहिकसँगको कुराकानीमा निरुता स्वयम्ले ‘दर्पण छायाँ’ को सिक्वेल बनाउन लागेको खुलासा गरेकी हुन् ।
उनले उत्तमको कन्सेप्टबाट आफू प्रभावित भएको र हाल कथामा काम भइरहेको उनले बताएकी छिन् । उनले भनेकी छन्, ‘उत्तम जीले सुनाउनु भएको एउटा कन्सेप्ट मलाई पनि राम्रो लाग्यो । अहिले कथामा काम भइरहेको छ ।’ ‘दर्पण छायाँ’ मा निरुता, उत्तम र दीलिप कलेज विद्यार्धीको भूमिकामा थिए ।
अब दुई दशकपछि सर्वाधिक रुचाइएको ‘दर्पण छायाँ’ जोडीलाई पुनः पर्दामा हेर्न पाउनु दर्शकका लागि भने ठूलै सरप्राइज हुनेछ । उक्त चलचित्रको अर्को वर्षको सुरुवातबाट छायांकन सुरु हुने स्रोत बताउँछ ।