‘रुमालै छ चिनो’ मा लाउरेको कथाब्यथा : अफ्सना



यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ चलचित्र ‘रुमालै छ चिनो’ । गायक रेशम थापाले गाएको चर्चित गीत ‘रुमालै छ चिनो’ नामलाई सापटी लिएर यो चलचित्र निर्माण भएको हो । चलचित्रलाई दिनेश सिंह ठकुरीले निर्देशन गरेका हुन् ।

भारत र पाकिस्तानको युद्धमा भारतको तर्फबाट युद्ध लडेका वीर गोर्खालीको कथामा चलचित्र आधारित छ । फिल्म प्रदर्शनको संघारमा रहँदा प्रचारमा भने नव-अभिनेत्री अफ्सना थापा एक्लै छिन् । उनी चलचित्र उत्कृष्ट बनेको बताउँछिन् ।

यसअघि ‘चोखो माया’ चलचित्रमा काम गरेकी उनलाई यो फिल्मबाट धेरै आशा छ । पत्रकारसँगको एक भेटमा उनले भनिन्, ‘चलचित्रले नेपाली लाउरेको कथा भन्छ । श्रीमान् वा प्रेमी भारतको तर्फबाट युद्ध लड्न जाँदा स्वदेशमा श्रीमती र प्रेमिकाले भोग्ने दुःख र पीडामा चलचित्र आधारित छ ।’ उनी चलचित्र हेरेर दर्शकले आफ्नो भूमिका मन पराउनेमा आशावादी छिन् ।

निर्देशक ठकुरीले विदेशमा हुने युद्धमा नेपाली वीर गोर्खालीले देखाएको वीरताको कथामा चलचित्र निर्माण भएको बताए । अध्ययन गरेर मात्र चलचित्र बनाएको उनको भनाई छ । सिंगल थिएटर केन्द्रित बताइएको यो चलचित्रमा अफ्सनाका अलावा सुशान्त कार्की, किशोर खतिवडा, संचिता लुईंटेल, रश्मी भट्ट, मिथिला शर्मा, सुरबीर पण्डितलगायतको अभिनय छ ।

चलचित्रमा चन्द्र बहादुर खड्का, दिपक ढकाल र राम प्रसाद पाण्डेको संयूक्त लगानी छ । बिनोद सापकोटाले फिल्म खिचेका हुन् । यो चलचित्रमा समावेश ‘एक माया’ बोलको गीत अहिले चर्चामा छ । चलचित्रले सार्वजनिक ट्रेलरबाट पनि राम्रो प्रतिक्रिया पाएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu