फागुन १७ गतेबाट प्रदर्शनमा आउन लागेको यस वर्षको बहुप्रतिक्षीत चलचित्र ‘क्याप्टेन’ को प्रचारका लागि अभिनेता अनमोल केसी र निर्माता भुवन केसी चितवन पुगेका छन् । बिहीवार चलचित्रको विषयमा जानकारी दिन बाबु छोरा त्यहाँ पुगेका हुन् ।
चितवनका स्थानीय पत्रकारसँग चलचित्रको विषयमा जानकारी दिँदै अभिनेता अनमोलले स्पोर्टस् जनराका चलचित्रमा इमोसन अत्यन्त आवश्यक रहने बताए । इमोसनको कमीले यसअघि निर्मित स्पोर्टस् जनराका चलचित्र दर्शकको मनमा बस्न सफल नभएको बताउँदै उनले भने- ‘‘क्याप्टेन’ मा इमोसनलाई यसरी ‘क्यारी’ गरेर लगिएको छ कि विश्वकपको फाइनल गेम हेरेको भन्दा बढी मज्जा आउँछ ।’’
अनमोलले चलचित्र हेरिरहँदा फुटबल खेलाडीलाई आफ्नै कथा भनेको महशुस हुने दाबी पनि गरे । ‘नेपालमा जति पनि फुटबल प्लेअर्स हुनुहुन्छ उहाँहरुले चलचित्र हेरिरहँदा कुनै न कुनै ठाउँमा आफू लाइफसँग रिलेट गर्नुहुन्छ’, उनले थपे, ‘चलचित्रमा देशमा घटिरहेको घटना उठाइएको छ । फुटबल खेलाडीको संघर्षको कथा छ ।’ सम्पन्न परिवारबाट अझै पनि खेल क्षेत्रमा युवापुस्ताको उपस्थिति नभएको पनि उनले बताए ।
रोयल फेमिलीले आफ्नो सन्तानलाई खेलकुदमा भन्दा पनि विजनेशमा जान प्रोत्साहन गर्ने उनको भनाइ छ । अनमोल अगाडि भन्छन्, ‘खेलकुद भनेको आफ्नो प्यासनबाट खेल्ने कुरा हो । मैले एन्फामा हरि खड्काबाट जति महिना फुटबल तालिम लिएँ र जति फुटबलरहरुसँग भेटेँ उहाँहरु अधिकांश मध्यमवर्गीय परिवारबाट आउनु भएको थियो । यसकारण पनि ‘क्याप्टेन’ मा हरेक फुटबलरको कथा छ ।’
पत्रकारसँग गफिँदै निर्माता भुवन केसीले ‘क्याप्टेन’ हरेक नेपालीले गर्व गर्न लायकको चलचित्र बनेको बताए । उनले चलचित्र बनाउन गर्नु परेको दुःख सम्झिँदै भने, ‘उत्कृष्ट चलचित्र बनाएको दाबी त गर्दिनौं तर इमान्दार प्रयास भने गरेका छौं । तर, स्पोर्टस् जनरामा चलचित्र बनाउन साह्रै गाह्रो हुँदो रहेछ । नेपालमा एउटा राम्रो फुटबल मैदान समेत छैन, जसले गर्दा हामीले नपाउनुको दुःख पनि पाएका थियौं ।’
यसमा अनमोलसँगै उपासना सिंह ठकुरी, प्रियंका एमभी, सुनिल थापा, प्रशान्त ताम्राकार, विल्सन विक्रम राईलगायतको पनि अभिनय छ । दिवाकर भट्टराइको निर्देशनमा तयार भएको चलचित्रमा सुदिप बरालको छायांकन छ । चलचित्रको कथा सामिप्यराज तिमल्सिनाले तयार पारेका हुन् । जिया केसी सह-निर्माता रहेको चलचित्रमा कविराज गहतराजको कोरियोग्राफी छ ।