सञ्चारकर्मी भीषण राईको डेब्यू निर्देशनमा तयार चलचित्र ‘पुरानो बुलेट’को वर्ल्ड प्रिमियर हङकङमा सम्पन्न भएको छ । शनिबार हङकङस्थित याउ माइ तेइ हलमा चलचित्रको ग्राण्ड प्रिमियर भयो। पुर्वेली जनजीवनलाई केन्द्रित गरेर निर्माण गरिएको चलचित्रलाई हङकङ निवासी नेपाली दर्शकले रुचाएका छन् ।
चलचित्रको प्रस्तुती, कलाकारहरुको अभिनय सबै पाटोलाई दर्शकले रुचाए, आयोजक मध्येका एक मज्जाको राईले भने, ‘नेपाली मौलिकता बोलेको यो प्रकारको चलचित्रको पहिलो प्रदर्शनी हङकङमा गर्न पाउँदा खुशी छौँ ।’

चलचित्रमा भिन्न अबतारमा देखिएका लिड कलाकार अनुपबिक्रम शाही, अभिनेत्री द्वय वर्षा शिवाकोटी र माला लिम्बुको कामलाई दर्शकले तारिफ दिएका छन् । ‘हेल्प फर ह्युमिनिटी’ (न्यानो काख अभियान) सहयोगार्थ आयोजित उक्त ‘शो’को प्रदर्शनी जिम्मा तथा व्यवस्थापकिय पाटो अनोज रोका, मज्जाको राई, विजय लिम्वु, सरु राई र सुनिता आंगदम्वेले सम्हालेका थिए ।

यो चलचित्र नेपालमा भने आगामी चैत्र १ बाट सार्वजनिक प्रदर्शनमा आउँदैछ । चलचित्र ‘पुरानो बुलेट’मा अनुपबिक्रम शाही, वर्षा शिवाकोटी र माला लिम्बुसँगै कविता आले, कृष्णभक्त महर्जन, शिरोमणी दवाडी, वारात लिम्बु, बादल श्रेष्ठ, करण धिताल र युडी गुप्ताको अभिनय समावेश छ ।

चलचित्रको कथा पटकथा लेखनमा निर्देशक भीषणले कार्यकारी निर्माता सन्तोष राईसँग साझेदारी गरेका छन् । अशोक कुमार राई, टिकाराम राई, विरेन साम्बा र दिपेन लिम्बु निर्मातामा छन् ।




