महानायक राजेश हमालले सञ्चालन गर्ने चर्चित टिभी सो ‘को बन्छ करोडपति ?’ को सेटमा फागुन १७ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘क्याप्टेन’ का अनमोलको साथमा अभिनेता तथा निर्माता भुवन केसी र अभिनेत्री निरुता सिंह पुगेका छन् । हमालले सोधेको प्रश्नको उत्तर दिन बाबु-छोरा हट सिटमा बस्दा निरुताले भने पछाडि बसेर हौसला दिइरहेकी थिइन् । भुवन र अनमोलले खेलेको एपिसोड अर्को हप्ता एपिवान टिभीमा प्रशारण हुनेछ ।
एपिसोडको छायांकन पश्चात् ‘क्याप्टेन’ टिमसँग अभिनेता हमालले पत्रकारसँग केही रमाइलो कुराकानी पनि गरे । उनले प्रदर्शनको तयारी रहेको चलचित्र ‘क्याप्टेन’ लाई सफलताको शुभकामना दिँदै भने- ‘उहाँहरुको उपस्थितिले ‘को बन्छ करोडपति ?’ मा थप रौनकता थपिएको छ । हाम्रो टिम उहाँहरुप्रति आभारी छौं ।’ बाबु र छोराको जोडी दमदार रहेको भन्दै उनले प्रशंसा पनि गरे ।
भुवनले भने ‘को बन्छ करोडपति ?’ मा सोधिएको प्रश्नको उत्तर दिँदा एसएलसीको परिक्षाको दिन सम्झिएछन् । ‘एसएलसीको परिक्षा दिँदा मनमा जस्तो डर हुन्थ्यो त्यस्तै भयो । तर, एकदमै रमाइलो भयो र पुरस्कार पनि जित्यौं’, उनले भने । अभिनेता अनमोलले भने बाबु-छोराले कति पुरस्कार जितेको जान्न चाहिँ ‘केबीसी’ को आउँदो एपिसोड हेर्न आग्रह गरे ।
उनले देशका तीन सुपरस्टार (राजेश, भुवन र निरुता) सँग एउटै स्टेज साझेदारी गर्न पाउनु आफ्नो लागि सौभाग्यको कुरा रहेको बताए । हमालको छेवैमा बसेका कारण केही नर्भस देखिएका उनले भने- ‘यो क्षण म आफूलाइ कति भाग्यमानी महशुस गरिरहेको छु भन्ने शब्दमा बयान गर्न पनि सक्दिनँ ।’ यस्तैमा समकालिन सेलिब्रेटीलाई लिएर गेम खेल्दाको पहिलो अनुभव हमालबाट सञ्चारकर्मीले जान्न खोजे ।
उनले निकै ठट्यौली शैलीमा आफ्नो समकालिन भुवन र निरुता नभएर अनमोल रहेको बताए । उनको यस्तो जवाफले भुवन, अनमोल र निरुताले हाँसो रोक्न सकेनन् । तर, उनले भुवनसँग वर्षौपछि भेट भएकोमा खुसी व्यक्त गरे । दशक अगाडि उनीहरुले ‘राजु राजा राम’ र ‘चोर सिपाही’ मा सँगै काम गरेका थिए । ह्याट्रिक गर्नुपर्छ जस्तो लाग्दैन ? पत्रकारको प्रश्नमा हमालले भुवनलाई सोधे- ‘अनमोल र मेरो पिताको भूमिका तपाईं गर्नुहुन्छ ?’
भुवनले पनि नयाँ चलचित्रमा राजेश आफ्नो ठूलो छोरा र अनमोल कान्छो छोरा भएर काम गर्ने तयारी भइरहेको ठट्यौली जवाफ दिए । तर, हमालले आफू कान्छो छोरा रहेको बताए । उनले भने- ‘अनमोलभन्दा त म दुई वर्ष कान्छो नै हुँ ।’ अन्तर्वार्ताको क्रममा उनले छेवैमा रहेकी निरुताको पनि प्रशंसा गर्न भ्याए । निरुताको कमब्याकलाई लिएर उनले भने- ‘उहाँको आगमनले त ओइलिएका पहिलाका फूलहरु फूल्न थाल्छन् । निभेका बत्तिहरु बल्न थाल्छन् ।’
निरुताले पनि हमालको प्रशंसा गर्न छाडिनन् । ‘म त राजेशदाई र भुवनदाईहरुको चलचित्र हेरेर हुर्किएको हुँ । राजेशदाईको पहिलो फिल्म ‘युगदेखि युगसम्म’ आउँदा दार्जेलिङतिर नेपालमा पनि चंकी पाण्डेजस्तो हिरो रहेछ भन्थे । पछि उहाँसँगै काम गर्ने मौका पाएँ’, उनले सुनाइन् । उनले हमालसँग पहिलो चलचित्र ‘चमत्कार’ गरेकी थिइन् । अनमोलले भने हमाललाई पहिलो पटक ट्वाइलेटमा देखेका रहेछन् ।
कुराकानीको क्रममा भुवनले हमाललाई नाती/नातिना खेलाउन दिन आग्रह गरे । हमालले फेरि ठट्यौली शैलीमा दुई हात जोड्दै भुवनको छेउमा टाउको पुर्याउँदै भने- ‘भुवन बुबा म प्रयास गरिरहेको छु । समय खेर फ्यालिरहेको छैन ।’ हमालले आफ्नो कुरा नसक्दै अनमोलले भने- ‘सबै दर्शक फेरि दुई सुपरस्टारलाई एउटै चलचित्रमा हेर्न चाहन्छन् । र, म पनि निकै आतुर छु ।’