शुक्रवारबाट प्रदर्शनमा आएको सुपरस्टार अनमोल केसी अभिनीत चलचित्र ‘क्याप्टेन’ को शुक्रवार बिहानदेखि साँझसम्म ७० प्रतिशतको आसपास ओपनिङ अकुपेन्सी रहेको वितरक मनोज राठीले जानकारी दिएका छन् । चलचित्रलाई ‘छक्का पञ्जा ३’ पछिकै ठूलो ओपनिङ मिलेको उनको दाबी छ ।
‘राजधानीका गोपी, अष्ट, गुण, गंगा आदी मध्यम वर्गीय दर्शकको अत्याधिक चाप रहने हल शुक्रवार बिहानैदेखि हाउसफुल छन् । बिहान मल्टिप्लेक्समा भने दर्शकको उपस्थिति कम भएकै हो । तर, दिउँसो २ बजेपछि भने सबै सोज लगभग हाउसफुल छन्’, उनले भने । दर्शक प्रतिक्रिया राम्रो भएका कारण चलचित्रले शनिबार देशभर आक्रामक व्यापार गर्नेमा उनी विश्वस्त छन् ।
शुक्रवार बिहानदेखि साँझसम्म राजधानीका केही मेजर स्टेशनमा पुग्दा तन्देरी पुस्ताहरुको भीडभाड हलको टिकट काउन्टरमा देखिन्थ्यो । बिहान भने प्रायः हल सुनसानजस्तै थियो । न सिंगल न त मल्टिप्लेक्समा नै अकुपेन्सी राम्रो थियो । वितरक राठीले भनेझैँ ‘क्याप्टेन’ ले दिउँसोबाट पिकअप लिएको छ । घाम अस्ताउन लाग्दै गर्दा मल्टिप्लेक्सहरुमा टिकट लिने दर्शकको भीड बढेको थियो ।
अनमोलका जबरजस्त फ्यानले चलचित्रलाई दमदार भन्दै गर्दा अन्य दर्शकबाट भने मिश्रित प्रतिक्रिया आएको छ । राम्रो, एभरेज र कमजोर सबैथरी भन्ने दर्शक छन् । चलचित्रको मूल कथा फुटबलको भए पनि दर्शकले बढी इन्जोय चाहिँ लभस्टोरी र कमेडी पाटोमा गरेका छन् । पर्दामा अनमोल गोल हान्न संघर्ष गरिरहँदा त्यसले दर्शकमा रोमाञ्चकता पैदा गर्न चलचित्र चुकेको छ । डबिङमा अनगिन्ती त्रुटी रहेको चलचित्रका कलाकारको काम भने तारिफयोग्य छ ।
दीवाकर भट्टराई निर्देशित यस चलचित्रमा अनमोलका अलावा उपासना सिंह ठकुरी, प्रियंका एमभी, प्रशान्त ताम्राकार, विल्सन विक्रम राई, सुनिल थापालगायतका कलाकारहरुको अभिनय छ । भुवन केसी निर्मित चलचित्रको पटकथा सामिप्यराज तिमल्सिनाले तयार पारेका हुन् । यो चलचित्रको दुई दिने कलेक्सन डेढ करोड हुने अनुमान फिल्म पण्डितहरुको छ ।