अभिनेता सलिनमान बनियाँलाई हेर्न हेटौंडामा जारि औधोगिक मेलामा दर्शकको भीड उर्लिएको छ । गत फागुन १६ देखि चलिरहेको औधोगिक मेलमा शनिवार २० हजारको हाराहारीमा दर्शक रहेको आयोजकले जनाएको छ । शनिवार सलिन आफ्नो रिलिजको क्रममा रहेको चलचित्र ‘यात्रा’ को प्रचार-प्रसारको लागि टिमसहित पुगेका थिए ।
सलिनसँगै सलोन बस्नेत, मलिका महत, जान्हवी बस्नेत, रेअर राई, विशाल सापकोटा, प्रेक्षा बज्राचार्यसहित निर्माता सुशील पोखरेल र प्रस्तुतकर्ताद्वय केशव भट्टराई र चिज कुमार श्रेष्ठ मेलामा पुगेका थिए । झन्डै १० मिनेट स्टेजमा रहँदा सलिनले चलचित्रकै गीत ‘चट्ट रुमाल’ मा नृत्य गर्नुका साथै आफ्नो चलचित्रको डाइलग बोलेर सुनाए । ‘चट्ट रुमाल’ गीत हेटौंडामा नै खिचिएको थियो ।
सलिनले ‘नमस्ते हेटौंडा’ भन्दै गर्दा स्थानीय दर्शकले एकै स्वरमा ‘नमस्ते’ फर्काएका थिए । उपस्थित सम्पूर्ण कलाकारले ‘चट्ट रुमाल’ मा नृत्य गरेका थिए भने सलोनले पनि आफ्नो भूमिकाको बारेमा प्रस्ट्याउदै दर्शकलाई ‘यात्रा’ हेर्न आग्रह गरे । यो चलचित्रमा सलिन भ्लगरको भूमिकामा छन् । यात्राको क्रममा आउने घटनाक्रमलाई फिल्ममा प्रस्तुत गरिएको छ ।
सम्राट शाक्य यसका निर्देशक हुन् । केशव भट्टराई र चिज कुमार श्रेष्ठ प्रस्तुतकर्ता रहेको चलचित्रमा बिक्रम पराजुली, मुक्ति सिना र राम शरण घिमिरे सह निर्माता रहेका छन् । चलचित्रका निर्माता सुशील पोखरेल हुन् भने यसको कार्यकारी निर्माता सर्जुमान लिगल रहेका छन् । चैत २९ मा रिलिज हुने चलचित्रमा कथापनि सम्राटकै रहेको छ । यसलाई संजय लामाले खिचेका हुन् ।