‘जानी नजानी’ मा ढाका इन्डस्ट्रीको पृष्टभूमीमा प्रेम



चैत १ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘जानी नजानी’ पछिल्लो समय बन्दै आएको फिल्महरुभन्दा केही फरक कथावस्तुमा ‘जानी नजानी’ निर्माण भएको ‘स्क्रिप्ट राइटर’ सामिप्यराज तिमल्सिनाले बताएका छन् । उनले बनिरहेका लभस्टोरी चलचित्रको ‘प्याटन’ परिवर्तन हुनुपर्ने बताउँदै शुद्ध लभस्टोरी बनाउने उद्येश्यले यो चलचित्रको कथामा काम गरेको बताए ।

‘ढाका इन्डस्ट्रीको पृष्टभूमीमा हामीले प्रेम बुनेका छौं । अन-रेस्पोन्सिवल केटा प्रेममा परेपछि व्यवहारिक हुँदै जान्छ भन्ने यूनिभर्सल कुरालाई पनि चलचित्रमा भन्न खोजिएको छ । प्रेममा परेपछि कुनै पनि मान्छे पुरानोजस्तो हुँदैन भन्ने ‘थ्रेड लाइन’ मा हामीले चलचित्रमा कथानकको रुपमा बुनेका छौं’, उनले भने । उनले चलचित्रमा ‘लभस्टोरी विथ कन्टेन्ट’ रहेको दाबी गरे । उनले थपे- ‘चलचित्रले ‘कर्पोरेट लभ’ भन्छ ।’


डुब्न लागेको ढाका इन्डस्ट्रीलाई ‘रिभाइभ’ गर्नका लागि एक युवकले गर्ने संघर्षको पेरिफेरिमा चलचित्रको मूल कथा बगेको लेखक तिमल्सिनाले बताए । चलचित्रले ढाकाको प्रबद्र्धन पनि गर्ने उनको विश्वास छ । उनी भन्छन्, ‘नेपाली पहिचानसँग जोडिएको कुनै पनि इन्डस्ट्रीलाई कसरी व्यावसायिकरण गर्न सकिन्छ भन्ने चिज चलचित्रमा हामीले देखाएका छौं । अहिलेको पुस्तालाई ‘कनेक्ट’ गर्ने ‘प्लानिङ’ चलचित्रमार्फत् गरेका छौं ।’

चलचित्रमा लभलाई पनि व्यवसायसँग जोडिएको उनी बताउँछन् । उनले चलचित्रबारे थप स्पष्ट पार्दै भने- ‘यो चलचित्रमा पार्कमा गएर प्रमुख पात्रले रोमान्स गर्दैनन् । घाटामा गएको ढाका इन्डस्ट्री जोगाउने क्रममा लिड अभिनेता मनिष श्रेष्ठ र नव-अभिनेत्री निरिशा बस्नेतलाई सँगै काम गर्नुपर्ने हुन्छ र त्यही बेला उनीहरु बीचमा केमेस्ट्री ‘बिल्डप’ हुँदै जान्छ ।’ चलचित्र हेरेपछि विजनेश प्रमोट गर्ने आइडिया पनि आउने उनको जिकिर छ ।

चलचित्रको स्क्रिप्टमा पनि लेखक तिमल्सिनासँग सँगै रहेर काम गरेका निर्देशक बसन्त अधिकारीले ‘जानी नजानी’ आफ्नो ‘ड्रिम प्रोजेक्ट’ रहेको बताए । यसअघि दर्जनौं चलचित्रमा सहायक निर्देशक भएर काम गरेको अनुभवलाई सर्टिफिकेट मान्दै चलचित्र निर्देशनमा औपचारिक रुपमा होमिएका उनी यस चलचित्रमा आफूले उत्कृष्टता पस्किन कुनै कसर बाँकी नराखेको बताउँछन् । स्क्रिप्टभन्दा राम्रो चलचित्र बनेको उनी दाबी गर्छन् ।


अभिनेता मनिषले चलचित्रमा आफूले निभाएको देव चरित्रले दुईवटा जीवन बाँच्ने बताए । चलचित्र ‘रानी’ बाट अभिनय करिअर सुरु गरेका ‘स्टाइलिस अभिनेता’ श्रेष्ठले भने- ‘सुरुमा देवले लाइफलाई खासै गम्भीर रुपमा लिएको हुँदैछ । तर, जब उसको जीवनमा एक युवती आउँछे तब उसको लाइफ एकदमै परिवर्तन हुन्छ । त्यसपछि लभलाई ढाकासँगै अगाडि बढाइएको छ ।’ लगातार दुई चलचित्रबाट असफलता भोगेका उनी यो चलचित्रबाट भने निकै आशावादी देखिएका छन् ।

चलचित्रमा घाटामा गएको ढाका इन्डस्ट्रीलाई ‘रिभाइभ’ गर्नका लागि संघर्षरत युवकको भूमिका निभाएका उनले अब कुनै कार्यक्रममा जानु परेको खण्डमा ढाकाको पहिरन लगाएर जान मन भएको पनि सुनाए । चलचित्रले युथहरुलाई प्रोत्साहन गर्ने पनि उनको भनाइ छ । लुगाको आफ्नै केही ‘आउटलेट’ भएका कारण चलचित्रमा मनिषलाई ढाकामा थप सहज भएको उनको छेवैमा रहेका लेखक तिमल्सिना बताउँछन् ।


नव-अभिनेत्री निरिशाले भने चलचित्रमा करिअर र रिलेसनसिपमा कन्फ्यूजन भएको एक युवतीको भूमिका निभाएको बताइन् । लेखक तिमल्सिनाझैँ उनी पनि चलचित्र ‘कर्पोरेट लभ’ मा आधारित भएर बनेको बताउँछिन् । तर, उनी रियल लाइफमा भने ‘कर्पोरेट लभ’ लाई राम्रो मान्दिनन् । प्रोफेसन र पर्सनल लाइफ मिक्स गर्न नहुने उनको तर्क छ । चलचित्रमा उनले ‘डेडिकेटेट लभर’ को भूमिका निभाएको लेखक तिमल्सिनाले प्रस्टाए ।

निरिशा ‘फिल्मी ब्लड’ हुन् । उनका पिता विश्व बस्नेत नेपाली चलचित्रका नामी अभिनेता हुन् । पितासँग बाल्यकालमा थुप्रै चलचित्रको सेट र अवार्ड कार्यक्रममा पुग्ने गरेका कारण बाल्यकालदेखि नै उनमा हिरोइन बन्ने इच्छा पलाएको थियो । तर, यसमा परिवारको मञ्जुरी थिएन । पिता स्वयं उनलाई हिरोइन नबन्न सुझाव दिन्थे । ‘पिताले चलचित्रमा भविष्य सुरक्षित हुन्न भन्नुहुन्थ्यो । तर, मलाई भने हिरोइन नै बन्नु थियो’, निरिशाले भनिन् ।


परिवारलाई थाहै नदिइ एकदिन एयर होस्टेज बन्ने भन्दै मुम्बई हानिएकी उनलाई मुम्बईले एयर होस्टेज नभएर कलाकार बनाइदियो । उनले चर्चित हिन्दी सिरियल ‘चन्द्र नन्दिनी’ मा लिड रोल निभाएकी थिइन् । उनी अवसर पाएको खण्डमा बलिउड चलचित्रमा प्रवेश गर्ने सोचमा पनि छिन् । लामो समय मुम्बई बसेकी उनी भन्छिन्, ‘बलिउड चलचित्रबाट अफर आए पनि काम गर्न तयार छु । तर, अब नेपाली चलचित्रलाई पनि निरन्तरता दिन्छु ।’

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu