बैशाख २० गतेबाट प्रदर्शनमा आउन लागेको सुदन केसी निर्देशित मल्टिस्टारर चलचित्र ‘दाल भात तरकारी’ को नेपाल रिलिज नहुँदै अहिले विदेशमा चर्को माग छ । विभिन्न देशबाट फिल्मको राइट्स लिन निर्मातालाई दिनमै दर्जन बढी व्यक्तिको फोन आउने गरेको छ । अब भने चलचित्रको राइट्स विक्री सुरु भएको छ ।
ओभरसिजमा नेपाली चलचित्रको ठूलो बजार मानिने अष्ट्रेलियामा महँगो मुल्यमा चलचित्र विक्री भएको निर्माता मध्येका एक किरण केसीले जानकारी दिएका छन् । उनले विपिन बस्नेत र लाुर्क लामाले ४५ लाखमा अष्ट्रेलिया राइट्स खरिद गरेको बताए । चलचित्रको आधा लगानी लगभग अष्ट्रेलिया राइट्सबाटै उठेको देखिन्छ । अन्य देशमा पनि चलचित्रको माग बढ्दो रहेको किरण बताउँछन् ।
हरिवंश आचार्य र निरुता सिंह चलचित्रमा श्रीमान्-श्रीमतीको भूमिकामा छन् । ‘मंगलम’ फेम्ड अभिनेता पुष्प खड्का र अभिनेत्री आँचल शर्मा प्रेम-प्रेमिकाको रुपमा प्रस्तुत छन् । हरेक मानिसले दात भात तरकारी खानका लागि गर्ने संघर्षको कथामा चलचित्र आधारित रहेको बताइएको छ ।
बर्षा राउत, राजाराम पौडेल, प्रियंका कार्की, विल्सन विक्रम राई, यमन श्रेष्ठ, शिवहरी पौडेल, किरण केसीलगायतका कलाकारहरुको पनि फिल्ममा अभिनय रहेको छ । चलचित्रलाई दिर्घ गुरुङले खिचेका हुन् । यसमा प्रमिला आचार्य, यमन श्रेष्ठ, शिवहरी पौडेललगायत निर्मातामा छन् । चलचित्रको कथा, पटकथा तथा संवाद हरिवंश आचार्यले लेखेका हुन् ।