अभिनयबाट दूरी बनाएर अब निर्देशकको रुपमा आफूलाई स्थापित गर्न संघर्षरत अभिनेत्री झरना थापाले आफूले हिँडेको बाटोमा आफ्नी छोरी सुहाना थापालाई पनि लिएर आएकी छन् । सुहानाले चलचित्र ‘ए मेरो हजुर ३’ मा अभिनेता अनमोल केसीको जोडी भएर काम गरेकी छन् । चार वर्षको हुँदा उनले यो चलचित्रको पहिलो भागमा बाल कलाकारको रुपमा काम गरेकी थिइन् ।
चैत २९ गतेबाट प्रदर्शनमा आउन लागेको ‘ए मेरो हजुर ३’ को दुई गीतबाटै सुहानालाई चलचित्र क्षेत्रले सम्भावना बोकेकी अभिनेत्रीको रुपमा हेरेको छ । उनको सुन्दरता र ‘एक्सप्रेसन’ को धेरैले प्रशंसा गरेका छन् । अब चलचित्रमा उनको काम हेर्न दर्शक मात्र नभएर फिल्मकर्मी पनि आतुर छन् । ‘फिल्मी ब्लड’ भएका कारण उनको काम राम्रो हुने विश्वास धेरैको छ ।
बुधवार चलचित्रको ट्रेलर रिलिज र आफ्नो बर्थडे केक काट्दै अभिनेत्री तथा निर्देशक झरनाले छोरी सुहानाको तारिफ गर्न कुनै कसर बाँकी राखिनन् । उनले चलचित्र हेरेपछि सुहानाको जो कोहीले तारिफ गर्ने दाबी समेत गरेकी छन् । उनले भनिन्, ‘जसरी मैले विगतमा यहाँहरुको मन-मस्तिष्कमा बस्न सफल भएँ । यहाँहरुलाई रिझाउन सकेँ । सुहाना पनि यसमा सफल हुनेछिन् ।’
‘सुहानाले फिल्ममा राम्रो काम गरेकी छन् । चलचित्र हेरेपछि तपाईंहरुले पनि उसको प्रशंसा गर्नुहुनेछ । यो म एउटी आमा भएर भनेको होइन । निर्देशक भएर ‘कन्फिडेन्ट’ का साथ भनेको हुँ’, उनले अगाडि भनिन्, ‘म आफू हिँडेको बाटोमा छोरीलाई पनि लिएर आएको छु । आजबाट तपाईंहरुमाझ मेरी छोरी सुहानालाई सुम्पिएको छु । तपाईंहरुले आर्शिवाद र साथ दिनुहोला ।’
यो चलचित्रको ट्रेलर रिलिज कार्यक्रममा अभिनेता अनमोल, सलोन बस्नेत, सरोज खनाल, रेअर राईलगायत उपस्थित थिए । ट्रेलरमा अनमोललाई सुपरस्टार गायक र एक साधारण युवक गरि दुई अवतारमा देख्न सकिन्छ । चलचित्रले एक स्टार र फ्यानबीचको प्रेमकथा भनेको झरना बताउँछिन् ।