‘साइँली’ मा देशभित्रको पीडा : ‘धुर्मुस-सुन्तली’



निर्देशक रामबाबु गुरुङ निर्देशित नयाँ चलचित्र ‘साइँली’ शुक्रवारबाट प्रदर्शनमा आएको छ । गायक हेमन्त रानाको स्वर र कालीप्रसाद बाँस्कोटाको शब्द तथा संगीत रहेको चर्चित गीत ‘साइँली’ नाम सापटी लिएर बनेको चलचित्रको बिहीवार साँझ राजधानीको जय नेपाल हलमा ग्रान्ड प्रिमियर राखिएको थियो । जहाँ दर्जनौं फिल्मकर्मीहरु उपस्थित थिए ।

चलचित्रका प्रमुख कलाकारहरु गौरव पहारी, मेनुका प्रधान, दयाहाङ राईलगायत प्रिमियरमा उपस्थित थिए भने हास्यजोडी कुञ्जना घिमिरे, सिताराम कट्टेल, अभिनेत्री श्वेता खड्का, अभिनेता सरोज खनाल, चर्चित खलनायक सुनिल थापा, बरिष्ठ अभिनेता टिका पहारी, अभिनेत्री उपासना सिंह ठकुरी, गायिका इन्दिरा जोशी, बरिष्ठ संगीतकार न्ह्यु ब्रजाचार्य, कलाकार निर्मल शर्मा, रंगकर्मी अनुप बराललगायत सहभागी थिए ।

चलचित्र हेरेपछि सम्पूर्णले राम्रो बोलेका छन् । ‘क्याप्टेन’ गर्ल उपासनाले चलचित्र उत्कृष्ट लागेको बताइन् । संवाददातासँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले भनिन्, ‘सबै कलाकारहरुले आफ्नो चरित्रलाई न्यायपूर्वक निभाउनुभएको छ । निर्देशक रामबाबु दाईको काम एकदमै राम्रो लाग्यो । फिल्ममा धेरै इमोसन पार्टहरु छन्, त्यसमा म एकदमै इमोसनल पनि भएँ ।’ उनी चाँडै निर्देशक गुरुङसँग चलचित्र ‘कबड्डी ३’ गर्दैछिन् ।


चलचित्र हेरेर निस्किँदै गर्दा हास्यकलाकार तथा समाजसेवी कुञ्जना घिमिरे (सुन्तली) को आँखाबाट आँसु ओभाइसकेका थिएनन् । ‘म इमोसनल पनि भएँ । हाँसे पनि । यसको मतलब चलचित्रमा सबै कुरा मिश्रित छ । यो चलचित्र एकदमै हेर्नुपर्ने खालको छ । केही समयदेखि राम्रो चलचित्र हेर्न दर्शकहरु कुरिरहनु भएको थियो, ‘साइँली’ ले त्यो इच्छा पूरा गर्छ’, उनले भनिन् । सिताराम (धुर्मुस) ले पनि चलचित्र उत्कृष्ट बनेको बताए ।

‘चलचित्रले देशको एउटा परिस्थितिलाई दर्शाएको छ । माटो सुहाउँदिलो नेपालीपन र देशभित्रको पीडा अर्थात् गरिबीका कारणले विदेशिनु पर्ने बाध्यता देखाइएको छ’, उनले अगाडि भने- ‘कलाकारहरुको अभिनय असाध्धै राम्रो छ । निर्देशक रामबाबु गुरुङले निर्देशकिय क्षमता राम्रोसँग प्रस्तुत गर्नुभएको छ । धेरैपछि एउटा राम्रो चलचित्र हेर्न पाइयो ।’ दया, गौरव र मेनुका भने फिल्मकर्मीको प्रतिक्रियाबाट प्रफुलित देखिन्थे ।

यसलाई गायक हेमन्त राना र अभिनेता गौरव पहारीले मिलेर निर्माण गरेका हुन् । माओत्से गुरुङ, प्रकाश घिमिरे, अरुण कार्कीलगायतका कलाकारको पनि अभिनय रहेको यस चलचित्रबाट केनिपा सिंहले डेब्यू गरेकी छन् । फिल्ममा विशाल गुरुङ र मोहन राना मगर निर्मातामा छन् । चलचित्रका कार्यकारी निर्माता मणिराम पोखरेल हुन् । शैलेन्द्र डि कार्कीको छायांकन रहेको छ । कथा निर्देशक गुरुङकै हो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu