अभिनेता प्रदीप खड्का अहिले आफ्नो नयाँ चलचित्र ‘लभ स्टेशन’ को प्रचारमा दौडिरहेका छन् । यो चलचित्र यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ । यसमा उनले दोस्रोपटक अभिनेत्री जसिता गुरुङसँग रोमान्स गरेका छन् । गत वर्ष प्रदर्शनमा आएको चलचित्र ‘लिलिबिली’ मा यो जोडीलाई दर्शकले अत्याधिक रुचाएका थिए । उज्जवल घिमिरेले यसकोे निर्देशन गरेका हुन् ।
अभिनेता प्रदीपले यो फिल्म बक्सअसिफसमा हिट साबित हुनैपर्ने दबाब आफूमा नरहेको उनको भनाई छ । पछिल्लो रिलिज चलचित्र ‘रोज’ को असफलताले केही हच्किएका उनी निर्माताका लागि भने फिल्म हिट हुन आवश्यक रहेको बताउँछन् । उनी भन्छन्, ‘कलालाई कहिले पनि कमर्सियल भ्यालुले महत्त्व राख्दैन । दुईजनाले हेरेर मनपराइदिनु भयो भने त्यो नै एउटा कलाकारका लागि खुसीको कुरा हो । यद्यपि, निर्माता सुरक्षित हुनुपर्छ भन्ने मान्यता चाहिँ म राख्छु ।’

‘लभ स्टेशन’ बक्सअफिसमा असफल भएको खण्डमा पनि आफ्नो करिअरलाई असर गर्ने उनको तर्क छ । उनी केही गम्भीर हुँदै भन्छन्, ‘मेरो करिअरलाई भन्दा पनि यो चलचित्र चलेन भने नेपाली फिल्म इन्डस्ट्रीलाई चाहिँ कस्तो असर गर्छ भन्ने कुरा महत्त्वपूर्ण हो । एउटा कलाकारको करिअरमा हिट र फ्लप भनेकोे भइरहन्छ । तर, यो चलचित्र पनि चलेन अनि नेपाली फिल्म इन्डस्ट्रीमै प्रश्न उठ्यो भने चाहिँ सबैलाई समस्या हुन्छ ।’
उक्त चलचित्रले आफ्नो स्टारडम मापन गर्छ भन्ने पक्षमा पनि उनी छैनन् । उनी स्टारडमलाई ‘आइडेन्टिटि’ को रुपमा लिन्छन् । ‘मलाई पहिला कसैले चिन्दैन थिए । ‘प्रेमगीत’ हुँदै ‘रोज’ सम्म आइपुग्दा धेरैले चिन्नुभयो’, उनले थपे- ‘अब ‘लभ स्टेशन’ ले नयाँ दर्शक चिनाउन ठूलो भूमिका खेल्छ भन्ने लाग्दैन । यो मेरो करिअरका लागि र फिल्म इन्डस्ट्रीका लागि राम्रो/नराम्रो चलचित्र भन्ने चाहिँ होला । तर, यसले मेरो स्टारडम मापन गर्छ भन्ने म मान्दिनँ ।’
आफूले पहिलो पटक पूर्णरुपमा फिल्मी शैलीको चलचित्र गर्ने मौका पाएको बताउँछन्, उनी । ‘लभ स्टेशन’ को बारेमा बताउँदै उनी भन्छन्, ‘यसअघि मैले गरेका चलचित्रमा हिरोले ढोका फोडेर हिरोइन बचाउन आउने, भिलेन पूरै भिलेनजस्तै देखिन र सोसल ड्रामा थिएन । नर्मल हाम्रो समाजमै हुने खालको केटा/केटीहरुकै कथामा रुमलिएको थियो । यो चाहिँ हिरालाई हिरोकै रुपमा र भिलेनलाई भिलेनकै रुपमा ‘डेभलप’ गरिएको चलचित्र हो ।’




