चलचित्र ‘द डार्क एण्ड लाइट’ को शुक्रवार पशुपति क्षेत्रमा रहेको वृद्धाश्रममा शुभ मुहूर्त गरिएको छ । निर्देशक राजु अर्याल, अभिनेता पिटर खालिङ, अभिनेत्री सरस्वती लामा र निर्देशक राजु अर्यालले क्यामेरा पूजा गरेका थिए भने वरिष्ठ गीतकार राजेन्द्र थापाले नविरल फुटाएर चलचित्रको शुभ मुहूर्त गरेका थिए ।
चलचित्रमा राजु अर्यालको मुख्य निर्देशन रहने छ भने पिटर खालिङ, सरस्वती लामा तथा केशवराज भट्टले उनलाई सहयोग गर्नेछन् । वृद्धाश्रममा आश्रित वृद्ध-वद्धाहरुलाई खाना खुवाउने उद्देश्यले गरिएको शुभ मुहूर्तमा चलचित्रकी अभिनेत्री तथा निर्देशक सरस्वती लामा र गायक डेविड शंकरले फिल्म प्रमोसनल गीत सुनाएका थिए ।
उक्त गीतमा राजेन्द्र थापाका शब्द तथा दीपक शर्माको संगीत छ । गीतकार राजेन्द्रले आफूले चलचित्रका लागि जिब्रोमा झुण्डिने शैलीको गीत तयार पारेको बताए । निर्देशक अर्यालले चलचित्रले हरेक व्यक्तिमा हुने नकारात्मक तथा सकारात्मक पक्षलाई उजागर गर्ने बताए ।
चलचित्रमा पिटर र सरस्वतीसहित सेसुका राई, सुमन मगर, प्रिन्सा राईलगायतका कलाकारहरुको पनि अभिनय रहनेछ । चलचित्रको शुक्रवारबाटै छायांकन सुरु भएको छ । फिल्मलाई सविन भट्टराईले खिच्नेछन् । दशैंअघि चलचित्र प्रदर्शन गर्ने निर्माण टिमको तयारी छ ।