लगातार होम प्रोडक्सनबाट मात्र चलचित्र निर्माण गर्दै आइरहेका दीपकराज गिरी र दीपाश्री निरौलाले आउँदो वर्ष दुई बाहिरी ब्यानरसँग सहकार्य गरेर दुई चलचित्र निर्माण गर्दैछन् । पहिलो चलचित्र रोहित अधिकारीसँग् हुँदैछ । चलचित्रको नाम ‘छ माया छपक्कै’ जुराइएको छ । सोमवार चलचित्र विकास बोर्डमा नाम दर्ता गरेसँगै मंगलवार बिहान कलाकार गिरीले फेसबुकमार्फत् चलचित्रको नाम सार्वजनिक गरेका हुन् ।
दीपक र दीपालाई ‘छ’ नामबाट जुराइएको चलचित्र निकै फापेको छ । यसपटक पनि चलचित्रको नाम ‘छ’ बाटै जुराइएको छ । ‘घामपानी’ र ‘गापी’ फेम्ड निर्देशक दीपेन्द्र लामाले चलचित्रको निर्देशन गर्नेछन् । निर्माता अधिकारीले चलचित्र कमेडी लभस्टोरी जनरामा निर्माण हुने बताए । चलचित्रमा सामाजिक विषयलाई पनि उठाइएको उनको भनाई छ । आउँदो बैशाख २२ गतेबाट चलचित्रको छायांकन सुरु हुनेछ भने दशैंमा प्रदर्शनमा आउनेछ ।
चलचित्रलाई हरी हुमागाइँले खिच्नेछन् । यो चलचित्र दीपकराजको टिमले विना लगानी ५० प्रतिशत मुनाफा लिने सर्तमा काम गर्न लागेको हो । बुझ्ने भाषामा भन्दा फिल्ममा सम्पूर्ण लगानी निर्माता अधिकारीको रहनेछ तर, चलचित्र सफल भएको खण्डमा उनले मुनाफाको ५० प्रतिशत दीपकराजलाई बुझाउनु पर्नेछ । चलचित्रमा अहिलेसम्म दीपक र केदार घिमिरे मात्र कलाकारको रुपमा फाइनल भएका छन् । यसमा जितु नेपाल पनि हुने सम्भावना छ ।
अहिले निर्माण टिम चलचित्रका लागि लिड अभिनेत्रीको खोजीमा छ । ‘छ माया छपक्कै’ मा दीपक शर्माको संगीत रहनेछ । निर्माता अधिकारीले बाँकी कलाकारहरु केही दिनमा छनोट गरिने जानकारी दिए । चलचित्रको कथा, पटकथा तथा संवाद कलाकार दीपकराजकै रहनेछ । हाल उनी चलचित्रको फाइनल स्क्रिप्टमा काम गरिरहेका छन् । दशैंमा यो चलचित्रको भिडन्त अशोक शर्माको ‘रातो टिका निधारमा’ सँग हुनेछ ।