करीब दुई दशकदेखि नेपाली चलचित्रमा सहायक निर्देशकको रुपमा सक्रिय सम्राट शाक्यले पहिलो पटक औपचारिक रुपमा चलचित्र निर्देशनको कमाण्ड सम्हालेका छन् । उनको डेब्यू निर्देशित चलचित्र ‘यात्रा’ यही चैत २९ गते प्रदर्शनका लागि तयार छ । निर्देशक शाक्यले चलचित्रले दर्शकलाई निराश नबनाउने दाबी गरे ।
‘मैले करीब दुई दशक नेपाली चलचित्रमा सहायक निर्देशक भएर विताएँ । यसकारण म नयाँ निर्देशक हुँ भनेर ‘एक्सक्यूस’ पाउँदिनँ । मैले आफ्नो तर्फबाट उत्कृष्ट दिन कुनै कसर बाँकी राखेको छैन । एउटा कुरा चाहिँ के निर्धक्क भन्न सक्छु भने दर्शकले चलचित्रमा मनोरञ्जनको कमी भेट्नुहुन्न’, उनी सुनिए । उनी चलचित्रका हरेक कलाकारको कामबाट पनि सन्तुष्ट देखिए ।
शहरिया युवापुस्ता भ्लगबारे धेरथोर जानकार भए पनि गाउँ-घरका दर्शक यसबारेमा अनभिज्ञ छन् । चलचित्रमा भ्लगको बारेमा विस्तृतमा बताउन नसकिए पनि धेरथोर जानकारी भने दर्शकले पाउने निर्देशक शाक्यको भनाई छ । ‘यात्रा’ ले उठाएको कथा नेपाली चलचित्रप्रेमी दर्शकका लागि नयाँ हुने उनको विश्वास छ । दर्शकलाई मनमा राखेर चलचित्र बनाएको बताउँदै उनले चलचित्र हेरेर बाहिरिँदै गर्दा दर्शकले अरुका लागि पनि बाँच्नुपर्छ भन्ने पाठ सिक्ने बताए ।
नयाँ छिमलका अभिनेतामा आफूलाई पहिलो चलचित्र ‘ए मेरो हजुर २’ बाटै प्रभावशाली प्रमाणित गरेका सलिनमान बनियालाई चलचित्र ‘यात्रा’ चल्ने प्रमुख आधार मानिएको छ । तर, निर्देशक शाक्य यो मान्ने पक्षमा छैनन् । उनी चलचित्रलाई ब्रान्ड बनाउन र इनिसियल बक्सअफिसमा सलिनको महत्त्वपूर्ण हात हुने भएता पनि चलचित्र कन्टेन्टले चल्ने तर्क राख्छन् । ‘सिर्फ स्टारको कारणले चलचित्र चल्थ्यो भने किन सुपरस्टारका चलचित्र असफल हुन्थे ? टिमले राम्रो ‘आउटपुट’ निकाल्यो भने चलचित्र चल्ने हो’, उनले भने ।
‘ए मेरो हजुर २’ मा सलिनको लुक्स, हेयर स्टाइल र ड्रेसअपको निकै प्रशंसा भएको थियो । तर, अभिनयको धेरै आलोचना भयो । सलिनले डेब्यू चलचित्रभन्दा ‘यात्रा’ मा अभिनय सुधार गर्न निकै मिहिनेत गरेको निर्देशक शाक्यको भनाई छ । उनी भन्छन्, ‘एक्सनमा १ महिना र वर्कसपमा उसलाई झण्डै ३ महिना राख्यौं । अभिनय निखार्ने कुरामा हामीले सक्ने गरेका छौं । कमी-कमजोरी अझै होलान्/हुन्छन् तर, यसपटक उसको अभिनयलाई लिएर खासै ठूलो आलोचना होला भन्ने मलाई लाग्दैन ।’
नेपालमा पछिल्लो समय हिट चलचित्रको सिक्वेल बन्ने ट्रेन्ड गजबले मौलाएको छ । ब्याज खानकै खातिर पनि सिक्वेल बन्ने गरेका छन् । ‘यात्रा’ को सिक्वेल बन्ने सम्भावना छ ? भन्ने प्रश्नमा उनले सिक्वेलको बारेमा भने टिममा अहिलेसम्म छलफल नभएको बताए । ‘चलचित्र सफल भए एउटा ब्रान्ड बन्छ । सिक्वेल बनाउन प्रेसर पनि आउँछ । यदी ‘यात्रा’ सफल भएको खण्डमा सिक्वेल भन्ने सम्भावना भने रहन्छ’, उनले भने । उनी चलचित्र सफल हुनेमा ढुक्क देखिएका छन् ।