लामो समयदेखि प्रेम सम्बन्धमा रहमाइरहेका अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठ अभिनीत चलचित्र ‘मासु भात’ को टिजर सार्वजनिक भएको छ । यसअघि सार्वजनिक हुँदै आएका चलचित्रका टिजरभन्दा यो केही पृथक छ । सौगातलाई कैदी र सृष्टिलाई पुलिसको भूमिकामा देखाइएको टिजरमा साहित्यकार कुमार नगरकोटीले वाचन गरेको मर्मस्पर्शी कविता पृष्ठभूमीमा सुन्न सकिन्छ ।

सञ्जिव कुमार न्यौपाने निर्देशित यस चलचित्रको प्रदर्शन मिति भने घोषणा गरिएको छैन । चलचित्रको कथा लेखक न्यौपाने स्वयंले लेखेका हुन् । सौगात र सृष्टिका अलावा चलचित्रमा पुर्णिमा तामाङ, रेअर राईलगायतका कलाकारहरुको पनि अभिनय छ । यसअघि चलचित्र ‘लालपूर्जा’ मा सौगात र सृष्टिले काम गरेको भए पनि स्क्रिन साझेदारी गर्न पाएका थिएनन् ।
‘मासु भात’ मा उनीहरुको जोडी बाँधिएको छ । यसको पटकथा प्रशान्त रसाइलीले लेखेका हुन् । दुर्गम गाउँकी बालिकालाई मानव तस्करले वेश्यावृत्तिमा लगाएको र पछि बालिकाको अंग बेच्ने प्रयास भएपछि त्यस बालिकाले गर्ने संघर्षसँगै बेपत्ता बहिनीको खोजीमा रहेको दाईको भुक्तभोगाइमा ‘मासु भात’ आधारित छ ।
बेचिएकी बहिनीको दाईको भूमिका सौगातले निभाएका छन् । उनी यस चलचित्रबाट पहिलो पटक निर्माताको रुपमा पनि आउँदैछन् । सार्वजनिक टिजरले चलचित्रप्रति दर्शकमा उत्सुकता जगाउने देखिन्छ ।
टिजर हेर्नुहोस् :-




