नयाँ वर्ष २०७६ को अवसर पारेर चलचित्र ‘दयारानी’ को पहिलो गीत सार्वजनिक भएको छ । ‘चिरी च्याट्टै’ बोलको गीतमा राजनराज सिवाकोटीको शब्द, संगीत र स्वर छ । उनलाई गायनमा गायिका मेलिना राईले साथ दिएकी छन् । लोक फ्लेवरमा ढालेर तयार पारिएको गीतमा अभिनेता दयाहाङ राई र अभिनेत्री दीया पुन फिचर्ड छन् ।

विक्रम स्वाँरको कोरियोग्राफी रहेको गीतको भिडियोलाई रवि न्यौपानेले खिचेका हुन् । यो चलचित्रलाई कलाकार तथा निर्माता माओत्से गुरुङले पहिलो पटक निर्देशन गरेका हुन् । जेठ १० गतेबाट देशभर प्रदर्शनमा आउने यो चलचित्रले एक खराब श्रीमान र एक दयालु श्रीमतीको कथा भन्ने निर्देशक गुरुङले बताएका छन् ।
सिनेमा आर्टस्को ब्यानरमा निर्माण भएको चलचित्रको कथा निर्देशक स्वयम्ले लेखेका छन् । चलचित्रमा दया र दीयाका अलावा विजय बराल, प्रमिसा गुरुङ, पुस्कर गुरुङ, टिकाराम घलेलगायतका कलाकारहरुको अभिनय छ । चलचित्रलाई शैलेन्द्र डि. कार्कीले खिचेका हुन् । लगानीमा मोहन गुरुङ, किरण गुरुङ, केन्द्र लिम्बु र न्यू आइटी भेन्चरको सहकार्य छ ।
चलचित्रमा रामबाबु गुरुङ र अपिल विष्ट कार्यकारी निर्मातामा छन् । अभिनेता दयाहाङको नामसँग मिल्दोजुल्दो भएका कारण फिल्मको नाम ‘दयारानी’ नराखिएको निर्देशक गुरुङको भनाई छ । उनी भन्छन्, ‘गुरुङ समुदायमा दयालु यूवतीलाई दयारानी भन्ने गरिन्छ । चलचित्रमा अभिनेत्री दीयालाई दयालु युवतीको रुपमा ब्याख्या गर्न खोजिएको छ ।’
गीत हेर्नुहोस् :-




