चलचित्र प्राविधिक संघले २०७६ साल वैशाख १ गतेदेखि सम्पूर्ण प्राविधिकहरुको हकहितका लागि सिफ्ट सिस्टम लागू गरेको छ । अबदेखि फिल्म निर्माता तथा निर्देशकले सुटिङको क्रममा प्राविधिकहरुलाई प्रतिदिन तोकिएको पारिश्रमिकभन्दा बढी समयसम्म काम लगाउन पाउने छैनन् ।
सिफ्टभन्दा बढी काम लगाएमा थप पारिश्रमिक दिनुपर्नेछ संघका अध्यक्ष पुष्कर लामाले बताएका छन् । उनका अनुसार, प्रतिदिन र प्रति प्याकेज दुबै कामका प्रकृतिमा यो प्रणाली लागू हुनेछ । यद्यपि, नेपालको श्रम ऐनमा भने छोटो समयावधिलाई एक सिफ्ट भनेर छुट्याएको छ । फिल्म क्षेत्रमा भने सिफ्ट सिस्टम अन्तर्गत १२ घन्टालाई एक सिफ्ट मानिन्छ ।
सिफ्ट सिस्टम लागू नहुँदा नेपालका चलचित्र निर्माता तथा निर्देशकहरुले प्राविधिकहरुलाई तोकिएको समयावधिभन्दा धेरै काम गराउने गरेका थिए । एक दिनको पारिश्रमिकमा डेढ वा दुई दिनसम्म काम गर्नुपर्ने बाध्यता प्राविधिकहरुको थियो । संघको निर्णयले प्राविधिकमा खुसीयाली छाएको छ ।