शिशिर राणाले निर्देशन गर्न लागेको नयाँ चलचित्र ‘पोई पर्यो काले’ केही दिनयता स्टारकास्टका कारण चर्चामा छ । अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री पूजा शर्मा अनुबन्भ भएको केही दिनमा नै चलचित्रमा अफस्क्रिन जोडी सौगात मल्ल र सृष्टि श्रेष्ठ पनि अनुबन्ध भएका छन् । दुईले एक दिनको अन्तरमा यो चलचित्र साइन गरेका हुन् ।
योभन्दा अगाडि दुईले सञ्जिव न्यौपाने निर्देशित चलचित्र ‘मासु भात’ मा काम गरिसकेका छन् । योभन्दा पनि अगाडि चलचित्र ‘लालपूर्जा’ मा पनि दुईले काम गरेका थिए तर साथमा स्क्रिन साझेदारी गर्न पाएका थिएनन् । ‘पोई पर्यो काले’ मा दुईले साथमा स्क्रिन साझेदारी गर्न पाउँछन् वा पाउँदैनन् ? यसबारे भने निर्माण टिमले कुनै जानकारी दिएको छैन ।
चलचित्रमा अभिनेता सोहित मानन्धर पनि अनुबन्ध भएका छन् । चलचित्रका प्रस्तुतकर्ता श्यामबहादुर थापा हुन् । रघु परियार र किरण नेपाली कार्यकारी निर्माता रहेको चलचित्रका निर्माता दिपक मनाङ्गे हुन् । चलचित्रमा पुरुषोत्तम न्यौपाने र शिव गौतमको संगीत रहनेछ । निर्देशक राणाले रुप भन्दा पनि मन राम्रो हुनुपर्छ भन्ने कथालाई चलचित्रले प्रस्तुत गर्ने बताएका छन् ।