पोखरेली दर्शक फकाउँदै ‘बीर विक्रम २’



जेठ ३ गतेबाट यस वर्षको प्रतिक्षीत चलचित्र मध्येको एक ‘बीर विक्रम २’ प्रदर्शनमा आउँदैछ । स्टारकास्टका कारण यो चलचित्र लामो समयदेखि चर्चामा थियो । प्रदर्शन मिति नजिकिँदै गर्दा यसको निर्माण पक्षले चलचित्रको प्रचार-प्रचारलाई तिव्र बनाएको छ । दर्शकसँग प्रत्यक्ष साक्षात्कार गर्ने उद्देश्यले मोफसल टुरमा निस्किएको छ । शुक्रवार दिउँसो पोखरा चिप्लेढुङ्गामा चलचित्रको भब्य सांगीतिक कन्सर्ट आयोजना गरिएको थियो ।

मुख्यतः चलचित्रको विषयमा जानकारी दिन आयोजना गरिएको कन्सर्टमा पल शाह, वर्षा सिवाकोटी, नाजिर हुसेन, बुद्धि तामाङसँगै बाल कलाकार मनिष लिम्बु र गायक दिपक लिम्बुले आफ्नो प्रस्तुती दिएका थिए । कार्यक्रममा पलको क्रेज लोभलाग्दो देखिएको थियो । उनको एक झल्को हेर्नका लागि घन्टौंसम्म युवा-युवतीहरु चर्को घामको प्रवाह नै नगरि बसेका थिए ।

कन्सर्टमा पलले इन्ट्री लिएपछि दर्शकहरुले चर्को हुटिङले न्यानो स्वागत गरेका थिए । युवतीहरुले ‘आइ लभ यू’ भन्दै माया दर्शाएका थिए । नाजिर र वर्षाको क्रेज पनि राम्रो देखिएको थियो । तीनै स्टार्सले दर्शकलाई चलचित्रमा समावेश ‘पिरतीको मिठो तिर्सना’ को रिमेक भर्सनमा गीतमा नृत्य गरेर मनोरञ्जन दिए भने ‘बीर विक्रम २’ हेर्न आग्रह पनि गरे ।

कन्सर्टमा बोल्दै निर्देशक मिलन चाम्सले नेपाली चलचित्रको गुणस्तर पछिल्लो समय बढ्दै गएको र नेपाली चलचित्र हेर्ने दर्शक पनि बढ्दै गएका कारण चलचित्रमा लगानी समेत बढेको बताए । नेपाली चलचित्र प्रदर्शनका लागि पोखरा महत्त्वपूर्ण गन्तव्य बन्ने गरेको बताउँदै उनले पोखरेली दर्शकले नेपाली चलचित्रप्रति देखाएको सदासयताप्रति कृतज्ञता व्यक्त गरे ।


उनी भन्छन्, ‘जसरी पोखरा आम नेपाली तथा विदेशी पर्यटकको पहिलो रोजाई बन्ने गरेको छ त्यसरी नै नेपाली चलचित्रको पहिलो गन्तव्य बन्नेमा हामी आशावादी छौं ।’ ‘बीर विक्रम २’ का छायाँकार सुदीप बराल हुन् । अर्पण सापकोटा निर्माता रहेको चलचित्रमा देशभक्त खनाल, विनिशा भण्डारी, विनोद सुवेदी खत्रीलगायतका कलाकारहरुको पनि अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu