‘दाल भात तरकारी’ को सुखद ओपनिङ



प्रतिष्ठित ब्यानर मह सञ्चारले निर्माण गरेको मल्टीस्टारर चलचित्र ‘दाल भात तरकारी’ ले घरेलु बक्सअफिसमा सुखद ओपनिङ गरेको छ । शुक्रवारबाट प्रदर्शनमा आएको यस चलचित्रले प्रदर्शनको पहिलो दिन शुक्रवार र दोस्रो दिन शनिवार देशभर आक्रामक व्यापार गरेको वितरक र निर्माताले जानकारी दिएका छन् । शुक्रवारको तुलनामा शनिवार चलचित्रले दोब्बर बढी व्यापार गरेको रिपोर्ट प्राप्त छ ।

शनिवार चलचित्रले सिंगल थिएटर र मल्टीप्लेक्स स्क्रिन दुबैतिर आक्रामक व्यापार गरेको वितरक मध्येका एक गोपालकाजी कायस्थले बताए । शनिवार कलाकारसहित राजधानीका केही हलमा पुगेर दर्शक प्रतिक्रिया बुझेका चलचित्रका प्रस्तुतकर्ता किरण केसी संवाददाताहरुसँग संक्षिप्त कुराकानी गर्दै भने- ‘चलचित्रले देशभर हाउसफुल व्यापार गरिरहेको छ । दर्शकहरुले चलचित्र निकै रुचाउनुभएको छ ।’

यो चलचित्रलाई शनिवार राजधानीको ठूलो चेन मानिने क्यूएफएक्सले २४ सोज उपलब्ध गराएको थियो । चलचित्रलाई उपलब्ध कुनै सोजमा दर्शक अभाव भएको थिएन । बिग मुभिज, क्यूज, विएसआरलगायतका मल्टीप्लेक्सहरुमा पनि शनिवार फिल्मको व्यापार राम्रो छ । मध्यम वर्गीय दर्शकको अत्याधिक चाप रहने गोपीकृष्ण, अष्टनारायाण, गुणलगायतका हलमा पनि दर्शकको भीड लोभलाग्दो देखिएको थियो ।


शनिवार हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, पुष्प खड्का, आँचल शर्मा, किरण केसी, निर्देशक सुदन केसीले राजधानीका गोपिकृष्ण, अष्टनारायण, एफक्यूब लगायतका हलमा पुगेर दर्शकसँग प्रत्यक्ष साक्षात्कार गरेका थिए । फिल्मले अमेरिका जान मरिहत्ते गर्ने एक परिवारको कथा वाचन गरेको छ । पटकथा र प्रस्तुतिकरण कमजोर हुँदा चलचित्र हेरेका दर्शकले खासै राम्रो बोलेका छैनन् ।

फिल्मले प्रदर्शनको दुई दिनमा एक करोड दुई लाखको व्यापार गरेको निर्माण टिमबाट जानकारी प्राप्त छ । रिलिजपूर्व फिल्मले दुई दिनमा २ करोडमाथि व्यापार गर्ने अनुमान ट्रेड एनालिस्टहरुको थियो । तर, ब्रान्ड भ्यालु र राम्रो हाइप हुँदा-हुँदै पनि फिल्मले बक्सअफिसमा लोभलाग्दो व्यापार गर्न चुकेको छ ।


‘दाल भात तरकारी’ मा निरुता सिंह, वर्षा राउत, राजाराम पौडेल, शिवहरी पौडेल, किरण केसी, बसुन्धारा भुषाल, रविन तामाङ, शिशिर वाङ्देल, यमन श्रेष्ठ, जयनन्द लामा, मोहितवंश आचार्यलगायत कलाकारहरुको पनि अभिनय छ । चलचित्रको कथा हरिवंश आचार्यले लेखेका हुन् । पटकथा तथा संवाद पनि उनकै हो । मित्र डि. गुरुङको सम्पादन रहेको चलचित्रलाई दिर्घ गुरुङले खिचेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu