झरना थापा निर्देशित चलचित्र ‘ए मेरो हजुर ३’ गएको शुक्रवारबाट चौथो हप्तामा प्रदर्शनरत छ । यस चलचित्रले प्रदर्शनको पहिलो र दोस्रो हप्ता बक्सअफिसमा लोभलाग्दो व्यापार गरेको थियो । चलचित्रले पहिलो हप्तामै ४ करोडमाथि व्यापार गरेको थियो । अहिलेसम्म चलचित्रले ९ करोडको आँकडा छोएको हुनसक्ने फिल्म विश्लेषकको अनुमान छ ।
यस चलचित्रको दुई हप्ता लामो दबदबा हलिउडको ठूलो चलचित्र ‘एभेन्जर्स : इन्ड गेम’ ले तोडेको थियो । तेस्रो सातामा यस हलिउड चलचित्रको कारण ‘ए मेरो हजुर ३’ मल्टीप्लेक्समा न्यूज सोजमा खुम्चिएको थियो । मुलुकको ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सले चलचित्रलाई तेस्रो साताको शुक्रवार १४ सोजबाट हटाएर तीन सोजमा झारेको थियो । चौथो हप्ताको शुक्रवार फ्रेस नेपाली चलचित्र ‘दाल भात तरकारी’ का कारण थप दुई सोज घट्यो ।

तर, दोस्रो साताबाट हलिउड चलचित्र ‘एभेन्जर्स’ मा दर्शकको घडेरी लागेको छ । ‘दाल भात तरकारी’ को माउथ पब्लिसिटी पनि कमजोर हुँदा ‘ए मेरो हजुर ३’ लाई प्रत्यक्ष फाइदा पुगेको छ । चौथो हप्ताको शुक्रवार क्यूएफएक्समा एक सोजमा खुम्चिएको चलचित्रले आइतबारबाट फ्रेस फिल्म बराबरकै सोज हात पारेको छ । आइतवार चलचित्रले पाँच सोज र सोमवार ६ सोज पाएको छ । अन्य मल्टीप्लेक्सहरुमा पनि चलचित्रलाई अझै राम्रो सोज छ ।
क्यूएफएक्सले ठूलो संख्यामा सोज घटाएर फेरि बढाउनुले ‘ए मेरो हजुर ३’ हेर्ने दर्शक अझै राम्रो रहेको प्रस्ट्याउँछ । निर्माण टिम चलचित्रले केही हलमा ५१ औं दिन मनाउनेमा विश्वस्त छ । समीक्षकबाट खासै राम्रो प्रतिक्रिया पाउन नसकेको चलचित्रलाई दर्शकले भने रुचाएका छन् । चलचित्रमा अभिनेता अनमोल केसी र अभिनेत्री सुहाना थापा केन्द्रिय भूमिकामा छन् । यो चलचित्रले अनमोलको फिल्म करिअरको पर्खालमा एउटा इट्टा थपेको छ ।
आजसम्म उनका कुनै चलचित्रले बक्सअफिसमा ८ करोडमाथि व्यापार गरेको रेकर्ड छैन । ‘क्याप्टेन’ र ‘कृ’ को कमजोर व्यापारले उनको स्टारडममाथि धेरैले प्रश्न उठाएका छन् । ‘ए मेरो हजुर ३’ ले उनको स्टारडमलाई फेरि उत्कर्षमा पुर्याएको छ । झरना पुत्री सुहानालाई पनि यस चलचित्रबाट सम्भावना बोकेको अभिनेत्रीको रुपमा हेरिएको छ । उनले ‘डि सिने अवार्ड’ मा नव-अभिनेत्रीको अवार्ड समेत उचालिसकेकी छन् ।




