जेठ १० गतेबाट प्रदर्शनमा आउने निश्चित भएको अभिनेता दयाहाङ राई र अभिनेत्री दीया पुन अभिनीत चलचित्र ‘दयारानी’ अब साउन ३० गतेबाट मुलुकभर प्रदर्शनमा आउने भएको छ । चलचित्रको रिलिज डेट पोस्टपोन्ड हुनुको कारण एक हप्ता अगाडिको फिल्म ‘जात्रै जात्रा’ बताइएको छ ।
यो चलचित्रमा पनि अभिनेता दयाहाङ नै लिड रोलमा छन् । एक हप्ताको अन्तरमा दयाहाङको प्रमुख भूमिका रहेको दुई चलचित्र प्रदर्शन हुने भएपछि ‘दयारानी’ को प्रदर्शन मिति केही समय पछाडि सारिएको निर्देशक माओत्से गुरुङले बताए । यो चलचित्रले एक खराब श्रीमान र एक दयालु श्रीमतीको कथा वाचन गरेको बताइएको छ ।

सिनेमा आर्टस्को ब्यानरमा निर्माण भएको चलचित्रको कथा निर्देशक गुरुङ स्वयम्ले लेखेका छन् । चलचित्रमा दया र दीयाका अलावा विजय बराल, प्रमिसा गुरुङ, पुस्कर गुरुङ, टिकाराम घलेलगायतका कलाकारहरुको अभिनय छ । चलचित्रलाई शैलेन्द्र डि. कार्कीले खिचेका हुन् । यसमा रामबाबु गुरुङ र अपिल विष्ट कार्यकारी निर्मातामा छन् ।
लगानीमा मोहन गुरुङ, किरण गुरुङ, केन्द्र लिम्बु र न्यू आइटी भेन्चरको सहकार्य छ । अभिनेता दयाहाङको नामसँग मिल्दोजुल्दो भएका कारण चलचित्रको नाम दयारानी नराखिएको निर्देशक गुरुङको भनाई छ । उनी भन्छन्, ‘गुरुङ समुदायमा दयालु यूवतीलाई दयारानी भन्ने गरिन्छ । चलचित्रमा अभिनेत्री दीयालाई दयालु युवतीको रुपमा ब्याख्या गर्न खोजिएको छ ।’




