अभिनेत्री दीपिका प्रसाइँ र निर्देशक दीवाकर भट्टराई विवाह बन्धनमा बाँधिएका छन् । केही समयदेखिको प्रेम सम्बन्धलाई उनीहरुले मंगलवार विवाहमा परिणत गरेका हुन् । हुनत, यो जोडीले केही वर्ष अगाडि नै कागजी विवाह गरिसकेका थिए । तर, यसको जानकारी दुई पक्षका परिवारबाहेक कसैलाई थाहा थिएन ।
विवाहको मण्डपबाट दीपिका र दीवाकरको एक तश्बिर बाहिर आएको छ । तश्बिरमा दुईले एकअर्काको हात समातेका छन् । दुलहा-दुलहीको पहिरनमा दुबैलाई निकै सुन्दर देखिएको छ । दुबै निकै खुसी देखिएका छन् । विवाह समारोहमा दुई पक्षका आफन्तहरुको बाक्लो उपस्थिति थियो । फिल्मकर्मीहरु भने खासै उपस्थिति थिएनन् ।
केही दिनमा यो जोडीले राजधानीमा ग्रान्ड रिसेप्सन पार्टी दिन लागेको जानकारी प्राप्त छ । चलचित्र ‘ऐश्वर्य’ को सेटबाट उनीहरुको प्रेम अंकुराएको थियो । चलचित्रका निर्देशक थिए दीवाकर । यो चलचित्र दीपिकाको डेब्यू होे । चलचित्रको छायांकन सकिए लगत्तै उनीहरुले अदालतमा गएर कागजी विवाह गरेका थिए । भने, गएको फागुनमा दुईले इन्गेजमेन्ट गरेका थिए ।
दीवाकर लभस्टोरी चलचित्र बनाउन सिपालु मानिने निर्देशक हुन् । ‘ऐश्वर्य’ सँगै उनले ‘स्टुपिड मन’, ‘क्याप्टेन’ चलचित्र निर्देशन गरिसकेका छन् । उनी चाँडै एक लभस्टोरी चलचित्रमा आफ्नी श्रीमतीको जोडी अभिनेता आर्यन सिग्देलसँँग बाँध्दैछन् । दीपिका अहिले चलचित्र ‘हेल्लो जिन्दगी’ मा व्यस्त छिन् । उनले ‘छक्का पञ्जा ३’ मा पनि काम गरेकी छन् ।