‘जात्रै जात्रा’ हेर्न विना अपेक्षा जानुस्: दयाहाङ राई



काठमाण्डौ। आउँदो जेठ ३ गतेबाट मुलुकभर प्रदर्शनमा आउँदैछ २ वर्ष अगाडिको सुपरहिट फिल्म ‘जात्रा’ को सिक्वेल ‘जात्रै जात्रा’ । गीतसंगीत र ट्रेलरले मल्टीस्टारर यस फिल्मको लोभलाग्दो हाइप निर्माण गरेको छ । दुई सुपरहिट फिल्म ‘जात्रा’ र ‘शत्रु गते’ दिएका निर्देशक प्रदीप भट्टराईले निर्देशन गरेका कारण ‘जात्रै जात्रा’ माथि दर्शकको अपेक्षा उच्च छ । चलेका कलाकारहरुको अभिनय भएका कारण फिल्म कस्तो होला भन्ने कौतुहलता पनि उतिक्कै छ ।

यस फिल्ममा पहिलो पार्टका प्रमुख कलाकारहरु विपिन कार्की, रविन्द्र झा, वर्षा राउत, रविन्द्र सिंह बाँनिया दोहोरिएका छन् । भने, अभिनेता दयाहाङ राईलाई खलपात्रको रुपमा प्रवेश गराइएको छ । तर, उनी आफ्नो भूमिका नेगेटिभ/पोजेटिभ फिल्म हेरेपछि मात्र थाहा हुने बताउँछन् । पत्रकारसँगको एक भेटमा उनले ‘जात्रा’ आफूलाई अफर भएको भएता पनि आफ्नो समय व्यस्तताका कारण गर्न नपाएको पनि खुलाए ।

‘जात्रै जात्रा’ गर्नुको कारणबारे बताउँदै उनी भन्छन्, ‘फिल्म गर्नुको प्रमुख कारण त मलाई स्क्रिप्ट मन परेरै हो । मेरो क्यारेक्टर पनि राम्रो लाग्यो । टिमप्रति विश्वास भएका कारण पनि गरेको हुँ ।’ ‘जात्रा’ आफूलाई मनपरेको फिल्म भएको पनि उनले बताए । हिट फिल्मको सिक्वेलप्रति दर्शकमा निकै ठूलो अपेक्षा हुने गर्दछ । तर, उनी अपेक्षा विना फिल्म हेर्न दर्शकलाई आग्रह गर्छन् । ठूलो अपेक्षा बोके निराश हुनसक्ने उनको भनाई छ ।

उनी भन्छन्, ‘म कहिल्यै पनि मेरा फिल्मले अपेक्षा पूरा गर्छ भनेर ग्यारेन्टी गर्दिनँ । हाम्रो सोच्ने र बुझ्ने तरिका फरक हुन्छ । मलाई राम्रो लागेको चिज अरुलाई नराम्रो लाग्न सक्छ । त्यसैले म त भन्छु हरेक फिल्म हेर्न जाँदा अपेक्षा विना जानुस् । विना अपेक्षा गइयो भने निराश भइन्न । फिल्म हेर्न जाँदा आ-आफ्नो सोच लिएर जानुपर्छ । मनपर्न पनि सक्छ नपर्न पनि सक्छ ।’ सिक्वेलमा मेकरको एउटा चलाखी हुने र त्यसलाई खोज्नु पर्ने उनी बताउँछन् ।

‘जात्रा’ मा भेटिएको पैसा लुकाउन गर्ने तीन पात्रहरुको संघर्षको कथा वाचन गरिएको थियो । यसको सिक्वेलमा सुनको कथा जोडिएको छ । यो फिल्मका कार्यकारी निर्माता रविन्द्र सिंह बनियाँ हुन् । फिल्ममा यज्ञश्वर पौडेल र सिंगे लामाको लगानी छ । यस फिल्ममा राजाराम पौडेल, प्रकाश घिमिरे, अञ्जु महर्जन, सोहित मानन्धर, सुस्मिता कार्की, प्रेम पाण्डे, प्रियंका झालगायतका कलाकारहरुको पनि अभिनय छ । फिल्मलाई शिवराम श्रेष्ठले खिचेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu