जेठ ३ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘बीर विक्रम २’ मार्फत् करीब १४ महिनापछि ठूलो पर्दामा फर्किएका छन्- पल शाह । उनी अभिनीत पछिल्लो रिलिज चलचित्र ‘शत्रु गते’ हो । यो चलचित्र बक्सअफिसमा सफल भए पनि जस उनले पाएका थिएनन् । उनी आफूलाई जुस्तोसुकै चलचित्र गरेर दर्शक र समीक्षकको गाली खान मन नभएको बताउँछन् । उनले ‘बीर विक्रम २’ झुर नभएको दावी गरेका छन् ।
स्क्रिप्ट, आफ्नो भूमिका र टिम राम्रो लागेपछि यो चलचित्र गर्न राजी भएको उनको भनाई छ । उनी भन्छन्, ‘मैले गर्न खोजेको र देखाउन खोजेको चिज ‘बीर विक्रम २’ मा पाएँ । मेकर्स पनि राम्रो पाएँ । सबै चिज राम्रो लागेपछि चलचित्र गरेको हुँ ।’ उनी चलचित्रले दर्शकलाई निराश नबनाउनेमा विश्वस्त छन् । पलले आफ्नो अभिनयमा निखारता प्रदान गरेको पनि बताए ।
आफ्ना अघिल्ला चलचित्रमा भन्दा भूमिका पनि फरक रहेको उनको भनाई छ । ‘बीर विक्रम २’ मा आफूले धेरै सिक्ने मौका पाएको बताउँदै उनी भन्छन्, ‘नाजिर हुसेन, बुद्धि तामाङजस्ता निखारिएका कलाकारसँग काम गर्न मलाई पहिलादेखि नै इच्छा थियो । यो चलचित्रमा त्यो संयोग जुर्यो । उहाँहरुबाट पनि मैले सिक्ने मौका पाएँ ।’ उनी चलचित्र आफ्नो स्कुल रहेको र हरेक चलचित्रमा आफूलाई निखार्ने प्रयास गर्ने बताउँछन् ।
‘बीर विक्रम २’ लाई मिलन चाम्सले निर्देशन गरेका हुन् । पलसँगै नाजिर हुसेन र वर्षा सिवाकोटीको पनि चलचित्रमा प्रमुख भूमिका छ । बक्सअफिसमा औसत व्यापार गरेको ‘बीर विक्रम’ को दोस्रो सिरिज भएका कारण दर्शकमा यस चलचित्रप्रति ठूलो अपेक्षा छ । निर्देशक चाम्स दर्शकको अपेक्षा निराशामा परिणत नहुने बताउँछन् । चलचित्रको गीतसंगीत अहिले चर्चामा छ ।