प्रदीप भट्टराई निर्देशित चलचित्र ‘जात्रा’ को सिक्वेल ‘जात्रै जात्रा’ शुक्रवारबाट देशभर एकसाथ प्रदर्शनमा आएको छ । मल्टीस्टारर यस फिल्मले मल्टीप्लेक्समा उल्लेख्य सोज पाएको छ । सिंगल थिएटर पनि पर्याप्य मिलेको छ । बम्पर ओपनिङ गर्ने अपेक्षा लिइएको फिल्मलाई शुक्रवार राजधानीको कुमारी हलमा भएको ‘स्पेशल स्क्रिनिङ’ मा लोभलाग्दो प्रतिक्रिया मिलेको छ ।

चलचित्रकर्मी, दर्शक र सञ्चारकर्मीले चलचित्रको मुक्तकण्ठले प्रशंसा गरेका छन् । अधिकांशले चलचित्रको स्क्रिनप्ले र कलाकारको अभिनय मनपराएका छन् । शुक्रवार बिहान देशभर ६० प्रतिशतको आसपास अकुपेन्सी कायम गरेको चलचित्रले ‘जात्रा’ मा नखुलाइएको २ करोड ८० लाख कसरी नक्कली भयो ? भन्ने रहस्यको घुम्टो उघारेको छ । ‘जात्रा’ जहाँ अन्त्य भएको थियो, सिक्वेल त्यहीबाट सुरु हुन्छ ।

३ वर्ष जेल जीवन विताएर फर्किएका विपिन कार्की, रविन्द्र झा र रविन्द्र सिंह बानियाँले १० केजी सुन भेटाएपछि सुरु हुने अर्को जात्रामा फिल्म केन्द्रित छ । सिक्वेलको रुपमा अगाडि नबढाउने गरि ‘जात्रै जात्रा’ को अन्त्य गरिएको छ ।

पहिलो पार्टमा झैँ सिक्वेल पनि पूरापुर विपिन र दुई रविन्द्रले नै धानेका छन् । उनीहरु चलचित्रका मेरुदण्ड हुन् । रविन्द्र झाको कमिक टाइमिङ र सहज एक्टिङले दर्शकलाई बाँधेर राख्छ । विपिनको अभिनय जबरजस्त छ ।

चलचित्रको ‘स्पेशल स्क्रिनिङ’ मा निर्देशक भट्टराईले ‘जात्रै जात्रा’ जति नै सफल भए पनि अब सिक्वेल नभन्ने स्पष्ट पारेका छन् । उनले भने- ‘अब ‘जात्रा’ को सिक्वेल बन्दैन । यो इन्ड गेम नै हो । सिरिज भने निर्माण हुनसक्छ, नयाँ कथामा ।’

उनले वास्तविक ३३ किलो सुन काण्डसँग फिल्म आधारित नभएको पनि प्रस्टाए । अभिनेत्री वर्षा राउत र अभिनेता विपिनले फिल्म रिलिजपूर्व मनमा डर भएता पनि दर्शक प्रतिक्रियापछि खुसी भएको बताए ।




