शनिवार ‘जात्रै जात्रा’ देशैभर हाउसफुल (फोटो र भिडियोसहित)



शुक्रवारबाट देशभर एकसाथ प्रदर्शन आरम्भ गरेको सुपरहिट चलचित्र ‘जात्रा’ को सिक्वेल ‘जात्रै जात्रा’ ले शनिवार लोभलाग्दो व्यापार गरेको छ । शुक्रवार भने चलचित्रले खासै राम्रो व्यापार गर्न सकेको थिएन । प्रदर्शनको पहिलो दिन देशभर ६० देखि ७० प्रतिशतको आसपासमा ओपनिङ अकुपेन्सी कायम गरेको चलचित्र शनिवार बिहानैदेखि शतप्रतिशत अकुपेन्सीका साथ प्रदर्शन भइरहेको छ ।

करीब साढे २ वर्ष अगाडि प्रदर्शनमा आएको चलचित्र ‘जात्रा’ को सिक्वेल भएका कारण दर्शकमा ‘जात्रै जात्रा’ प्रति ठूलो अपेक्षा थियो । चलचित्र दर्शकको अपेक्षामाथि खरो उत्रिएको छ । दर्शकले फिल्मको मुक्तकण्ठले प्रशंसा गरेका छन् । भने, समीक्षकहरुले पनि सार्थक सिक्वेलको रुपमा ब्याख्या गरेका छन् । प्रदीप भट्टराई निर्देशित यस चलचित्रलाई माउथ पब्लिसिटीको फाइदा बक्सअफिसमा राम्रै परेको छ ।

चलचित्रको सिंगल थिएटरभन्दा मल्टीप्लेक्समा व्यापार आक्रामक छ । यो कुरा निर्देशक भट्टराई स्वयं स्वीकार गर्छन् । ह्याट्रिकको दौडमा रहेका उनले ‘जात्रै जात्रा’ लाई दर्शकले रुचाएकोमा खुसी व्यक्त गरे । शनिवार दर्शक प्रतिक्रिया बुझ्न गोपीकृष्ण हलमा पुगेका उनले शनिवार चलचित्रको व्यापार देशभर आक्रामक रहेको बताए । चलचित्रले दुई दिनमा करोडमाथि व्यापार गर्ने ट्रेड एनालिस्टहरुको अनुमान छ ।

शुक्रवारको बम्पर ओपनिङलाई शनिवार पनि निरन्तरता दिएको चलचित्रलाई मल्टीप्लेक्सहरुले उपलब्ध गराएको कुनै सोजमा दर्शक अभाव भएको छैन । मुलुकको प्रमुख मल्टीप्लेक्स चेन क्यूएफएक्सले चलचित्रलाई शुक्रवार १९ सोज बाँडेको थियो । अधिकांश सोज हाउसफुल भएका थिए । शनिवार जय नेपालमा एक सोज बढाएर २० सोज पुर्‍याएको छ । शनिवार पनि कुनै सोजका सिट खाली भएका छैनन् ।


शनिवार क्यूएफएक्सले प्रदान गरेको प्रायः सोज प्रदर्शन अगावै ‘सोल्ड आउट’ भएका छन् । राजधानीमा सञ्चालित अन्य मल्टीप्लेक्सहरु क्यूज, बिग मुभिज, एफक्यूब, विएरआर, सिडिसीलगायतमा पनि चलचित्रले दर्शकको उल्लेख्य साथ पाएको छ । मध्यम वर्गीय दर्शकको अत्याधिक चाप रहने गोपीकृष्ण, गंगा, अष्टनारायण, गुणलगायतका हल पनि शनिवार बिहानैदेखि हाउसफुल छन् । चलचित्र हेरेका दर्शकले लोभलाग्दो प्रतिक्रिया दिएका छन् ।

‘जात्रै जात्रा’ को राजधानीको मात्र रिपोर्ट राम्रो छैन । मोफसलमा सञ्चालित मल्टीप्लेक्स स्क्रिन र सिंगल थिएटर जताततै चलचित्र हाउसफुल रहेको वितरकले जानकारी दिएका छन् । फिल्मले बम्पर ओपनिङ गर्नुलाई ब्रान्ड भ्यालु, स्टारपावर, गीतसंगीत र ट्रेलरको भूमिका महत्त्वपूर्ण मानिएको छ । दर्शकबाट राम्रो प्रतिक्रिया मिलेका कारण चलचित्र बक्सअफिसमा लामो रेसको घोडा बन्ने देखिएको छ ।

शनिवार बिहान साढे १० बजे दर्शकसँग प्रत्यक्ष साक्षात्कार गर्न चावहिलको गोपीकृष्ण हल पुगेका चलचित्रका अभिनेता विपिन कार्की र अभिनेत्री वर्षा राउत निकै खुसी मुद्रामा देखिएका थिए । दुईलाई दर्शकले सेल्फी खिच्न घन्टौंसम्म घेरे । दुईले पनि रमाउँदै सेल्फी खिचे । विपिन र वर्षालाई आँखै अगाडि देख्दा चलचित्र हेर्न पुगेका र हेरेर फर्किएका दर्शक निकै खुसी देखिएका थिए । दुबैले दर्शक प्रतिक्रियाबाट खुसी भएको बताएका छन् ।

चलचित्र दर्शकको मन-मस्तिष्कमा बस्न सफल भएकोमा वर्षाले खुसी व्यक्त गरिन् । अभिनेता विपिनले आफूले सोचेकोभन्दा राम्रो प्रतिक्रिया मिलेको बताए । ‘दर्शकले यो लेभलमा मन पराउनुहुन्छ होला भन्ने मैले सोचेकै थिइनँ । दर्शकको मायाबाट एकदमै खुसी छु । क्रिटिक्सले चाहिँ नरुचाउनुहोला कि भन्ने डर थियो । आजबाट यो डर पनि हटेको छ’, उनी सन्तुष्ट सुनिए । चलचित्रमा उनको अभिनयलाई दर्शकले निकै रुचाएका छन् ।


‘जात्रै जात्रा’ मा विपिन र वर्षाका अलावा दयाहाङ राई, रविन्द्र झा, रविन्द्र सिंह बानियाँ, राजाराम पौडेललगायतका कलाकारहरुको अभिनय छ । ‘जात्रा’ जहाँ अन्त्य भएको थियो सिक्वेल त्यहींबाट सुरु हुन्छ । तीन वर्ष जेल जीवन विताएर फर्किएका विपिन र दुई रविन्द्रले अचानक १० केजी सुन भेटाएपछि त्यसलाई लुकाउन गर्ने जात्रामा चलचित्र केन्द्रित छ । चलचित्रमा जबरजस्ती हँसाउनकै खातिर संवादहरु प्रयोग गरिएको छ ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu