निर्देशक तथा निर्माता अशोक शर्माले यस वर्षको दशैंमा प्रदर्शनमा ल्याउने गरि चलचित्र ‘रातो टीका निधारमा’ को निर्माण घोषणा गरेका छन् । आइतवार राजधानीमा एक कार्यक्रमका बीच चलचित्रको औपचारिक निर्माण घोषणा गरियो भने कलाकारदेखि प्राविधिकसम्म सबैलाई परिचय पनि गराइएको थियो । जेठ १० गतेबाट चलचित्र फ्लोरमा जाँदैछ ।
चलचित्रमा अभिनेत्री साम्राज्ञी आरएल शाह लिड रोलमा रहनेछिन् । उनको अपोजिटमा अंकित शर्मा फाइनल भएका छन् । उनी निर्देशक शर्माका छोरा हुन् । उनले चलचित्र मेकिङमा ब्याचलर सकेका छन् । निर्देशक शर्माले छोरालाई तयारी गराएर मात्र चलचित्रमा डेब्यू गराउन लागेको बताए । उनी छोराले दर्शक निराश नबाउनेमा विश्वस्त छन् । यसअघि अंकितले चलचित्र ‘जय भोले’ मा सहायक निर्देशक भएर काम गरेका थिए ।
किरण शर्मा र कृति शर्माले निर्माण गर्ने यस चलचित्रमा नाम चलेका कलाकारहरुको ठूलो भीड छ । अभिनेत्री नीता ढुंगाना, रविन्द्र झा, बुद्धि तामाङ, खुश्बु खड्का, राजाराम पौडेल, शिवहरी पौडेल, लक्ष्मी गिरी, बसुन्धारा भुषाललगायतका कलाकारहरुको चलचित्रमा अभिनय रहनेछ । पूर्वका विभिन्न स्थानमा छायांकन हुने चलचित्रलाई पुरुषोत्तम प्रधानले खिच्नेछन् ।
चलचित्र ‘अल्लारे’ मा समावेश अभिनेता राजेश हमाल र अभिनेत्री करिश्मा मानन्धर फिचर्ड चर्चित गीत ‘रातो टीका निधारमा’ लाई यस चलचित्रमा रि-एरेञ्ज गरिएको छ । चलचित्रको छायांकन नै गीतबाट सुरु हुने निर्देशक शर्माले जानकारी दिए । उनी ‘रातो टीका निधारमा’ गीतको रिमेक भर्सनलाई राम्रो बनाउन निकै मिहिनेत गरेको बताउँछन् । उनी दर्शकले रिमेक भर्सनलाई पनि ओर्जिनल गीतझैँ मन पराउनेमा विश्वस्त छन् ।
चलचित्रको घोषणा सभामा फिल्मी शैलीमा गजबको इन्ट्री लिएका अंकितले आफूले निर्वाहा गर्न लागेको चरित्रलाई न्यायपूर्वक निभाउन कुनै कसर नछाड्ने प्रतिवद्धता व्यक्त गरे । अभिनेत्री साम्राज्ञी आफू पहिलो पटक फरक भूमिकामा प्रस्तुत हुन लागेको निकै उत्साहित रहेको बताइन् । उनी चलचित्रमा गाउँले भूमिकामा देखिँदैछिन् । अभिनेत्री द्वय नीता र खुश्बु पनि चलचित्रलाई लिएर उत्साहित देखिए ।
चलचित्रमा शम्भुजित बाँस्कोटा र कल्याण सिंहको संगीत छ । बसन्त श्रेष्ठको कोरियोग्राफी, मित्र देव गुरुङको सम्पादन रहने चलचित्रका गीतमा प्रमोद खरेल, मेलिना राई, निशान भट्टराई र अस्मिता अधिकारीले आवाज भरेका छन् । चलचित्रका लागि सहदेव ढुंगाना, डा. कृष्णहरि बराल र वि मल्लले गीत लेखेका छन् । निर्देशक शर्माकी छोरी कृतिले उनलाई निर्देशनमा सहयोग गर्नेछिन् ।