निर्माता संघ र निर्माता संघ र लुम्बिनी इन्सुरेन्सबीच ‘चलचित्र प्रोजेक्ट बीमा’ मा सम्झौता



अब नेपाली चलचित्रका निर्माताले आफ्नो चलचित्रको बीमा गर्न पाउने भएका छन् । सोमवार चलचित्र निर्माता संघ र लुम्बिनी जेनेरल इन्सुरेन्सबीच ‘चलचित्र प्रोजेक्ट बीमा’ मा औपचारिक सम्झौता भएको छ । चलचित्र निर्माणको क्रममा आइपर्ने भैपरी घटनालाई मध्यनजर गर्दै निर्माता संघ र लुम्बिनी इन्सुरेन्सबीच कागजी सम्झौता भएको हो ।

निर्माता संघका अध्यक्ष आकाश अधिकारी र लुम्बिनी इन्सुरेन्सका सीइओ एन.पि प्रधानले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । निर्माता संघले स्वीकृति दिएपछि मात्र निर्माताले चलचित्रको बीमा गर्न पाउने निर्माता संघका अध्यक्ष अधिकारीले बताए ।

निर्माताले चलचित्र विकास बोर्डमा आफ्नो चलचित्र दर्ता गर्दा भरेको लगानी विवरणको एक प्रतिशत रकम बीमा कम्पनीलाई बुझाउनु पर्ने उनको भनाई छ । उक्त एक प्रतिशत रकमको पाँच प्रतिशत बीमा कम्पनीले निर्माता संघमा बुझाउनेछ ।

सीइओ प्रधानले चलचित्रको छायांकनको क्रममा हुने हानी-नोक्सानीको इन्सुरेन्स कम्पनीले एक महिनाभित्र भुक्तानी गर्ने बताए । भ्यालुएटर र सर्वेक्षकले निर्धारण गरेको रकम बीमा कम्पनीले भुक्तानी गर्ने उनले प्रस्ट्याए । यो सम्पूर्ण प्रक्रियामा निर्माता संघले निर्मातालाई सहयोग गर्ने अध्यक्ष अधिकारीले बताए । यस ‘प्रोजेक्ट बीमा’ ले निर्मातालाई चलचित्र क्षेत्रमा सुरिक्षत राख्ने उनको विश्वास छ ।

बीमाबारे प्रस्ट्याउँदै उनले भने- ‘यो बीमा स्वेच्छाले गर्ने हो । यदी कसैले दुर्घटना बीमा मात्र गर्छु भन्न पनि पाउने र कसैले प्रोजेक्ट बीमा गर्छु भन्यो भने दुर्घटना बीमा गर्नु पर्दैन ।’ इन्सुरेन्स कम्पनी र निर्माता संघबीच भएको सम्झौता कार्यक्रममा उदय सुब्बा, बिमल पौडेल, रोज राणालगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu